मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

सुनकोशीको बोहोरेटारमा कृषि बजार सञ्चालनमा

आइतवार , भाद्र २१, २०८३


सिन्धुली,२१ भदौ  – तराई लाई संघिय राजधानी जोड्ने विपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका वडा नं. ३ बोहोरेटारमा स्थानीय कृषि उत्पादनको बिक्री–वितरणलाई व्यवस्थित  बनाउने उद्देश्यले अल्छीढुङ्गा कृषि बजार निर्माण गरिएको छ । यसअघि यही क्षेत्रका किसानले सडक छेउमा बोरा ओछ्याएर आफ्ना उत्पादन बिक्री गर्दै आएका थिए। अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएको उक्त गतिविधिलाई अहिले व्यवस्थित बजार संरचनामार्फत सहज बनाइएको हो ।

सुनकोशी गाउँपालिका सिन्धुली र कृषि खाद्य प्रणालीको लागि नबिकरणीय उर्जा परियोजनाको सहकार्यमा नवनिर्मित कृषि बजारमा स्थानीय किसानले उत्पादन गरेका विभिन्न कृषि उपज बिक्रीका लागि राख्न थालेका छन् । हाल बजार क्षेत्रमा स्थानीय रूपमा उत्पादन भएको सरिफा र अम्बा बिक्रीका लागि राखिएको देख्न सकिन्छ । किसानलाई आफ्ना उत्पादन सुरक्षित र व्यवस्थित स्थानबाट बिक्री गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले बजार निर्माण गरिएको हो ।

विपी राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा स्थानीय उपभोक्तालाई समेत स्थानीय उत्पादन सहज रूपमा उपलब्ध गराउने लक्ष्यका साथ कृषि बजार सञ्चालनमा ल्याइएको छ । यसअघि सडक किनारमा अस्थायी रूपमा व्यापार गर्दा किसानले विभिन्न समस्या झेल्दै आएका थिए । नयाँ बजार संरचनाले किसान र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बोहोरेटार क्षेत्र आसपासका किसानले उत्पादन गरेका मौसमी फलफूल तथा कृषि सामग्रीलाई बजारसम्म पु¥याउन सहज वातावरण सिर्जना भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन, किसानको आयआर्जनमा सहयोग र ग्रामीण क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण विस्तार गर्ने उद्देश्यले यस्तो संरचना निर्माण गरिएको हो ।

अल्छीढुङ्गा कृषि बजार सञ्चालनमा आएपछि सडक किनारमा अस्थायी रूपमा राखिने कृषि उपज अब निश्चित स्थानबाट बिक्री गर्न सकिने भएको छ । यसले बजार क्षेत्रलाई व्यवस्थित बनाउनुका साथै यात्रु तथा उपभोक्तालाई पनि सहज र सुरक्षित रूपमा स्थानीय उत्पादन खरिद गर्ने वातावरण तयार गरेको छ ।

स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धनका लागि निर्माण गरिएको यो बजारले बोहोरेटार क्षेत्रको कृषि गतिविधिलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ । सडकसँगै जोडिएको स्थानमा निर्माण गरिएको बजारले किसानको उत्पादनलाई नयाँ बजार पहुँच उपलब्ध गराउने र स्थानीय कृषि अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया