मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

शनिवारे हाटमो  किसानले पाउन थाले राँगाको उचित मूल्य

शनिवार , भाद्र २०, २०८३

 


सिन्धुली,२० भदौ — सिन्धुलीमाढीमा लाग्ने शनिवारे हाटबजारमा पछिल्लो समय राँगा तथा पाडाको व्यापार विस्तार हुन थालेपछि स्थानीय पशुपालक किसानलाई प्रत्यक्ष लाभ पुग्न थालेको छ । विगतमा ठूला बजार केन्द्रमा मात्र सीमित रहेको पशु कारोबार अहिले स्थानीय हाटबजारमै सञ्चालन हुन थालेपछि किसानका लागि बिक्री प्रक्रिया सहज बनेको हो ।

शनिवारे हाटबजारमा अपनाइएको प्रत्यक्ष बिक्री–वितरण प्रणालीले किसान र व्यापारीबीचको दूरी घटाएको छ । बिचौलियाको प्रभाव कम गर्दै खुला तथा पारदर्शी रूपमा राँगा–पाडाको खरिद–बिक्री हुन थालेपछि पशुपालकहरूले आफ्नो उत्पादनको वास्तविक मूल्य पाउने अवसर पाएका छन् ।

यसअघि गाउँघरमै पुग्ने बिचौलियाहरूले किसानको जानकारीको अभावको फाइदा उठाउँदै कम मूल्यमा राँगा–पाडा खरिद गर्ने र बजारमा लगेर बढी मुनाफा कमाउने अवस्था रहेको थियो । तर अहिले स्थानीय हाटबजारमा नै पशु बिक्रीको व्यवस्था भएपछि किसानले प्रत्यक्ष रूपमा व्यापारी तथा खरिदकर्तासँग कारोबार गर्न थालेका छन् ।

हाटबजारमा विभिन्न व्यापारी र ग्राहकको उपस्थितिका कारण किसानहरूले आफ्नो पशुको मूल्य तुलना गर्न तथा आवश्यक मोलमोलाइ गर्न पाएका छन् । यसबाट उनीहरूले विगतको तुलनामा उचित मूल्यमा राँगा–पाडा बिक्री गर्न सक्ने अवस्था सिर्जना भएको छ ।

स्थानीय तह तथा हाटबजार व्यवस्थापन समितिले पनि पशुको स्वास्थ्य परीक्षण, नापतौल र सुरक्षित कारोबारका लागि आवश्यक सहजीकरण गर्दै आएका छन् । व्यवस्थित अनुगमन र व्यवस्थापनका कारण हाटबजारमा हुने पशु कारोबार थप विश्वसनीय बन्दै गएको बताइएको छ ।

राँगा–पाडाको व्यापारमा आएको विस्तारसँगै पशुपालन व्यवसायप्रति किसानको आकर्षणसमेत बढेको छ । हाटबजारमा बढ्दो व्यापारिक गतिविधिले पशुपालनलाई व्यावसायिक रूपमा अघि बढाउन प्रोत्साहन दिएको छ ।

पशु बिक्रीबाट किसानको हातमा प्रत्यक्ष नगद आम्दानी पुग्ने भएकाले दैनिक घरखर्च व्यवस्थापनदेखि पुनः नयाँ बाछा वा पाडा खरिद गरी पालनपोषण गर्नसमेत सहज भएको छ। स्थानीय स्तरमै हुने यस्तो कारोबारले क्षेत्रीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै पशुपालन क्षेत्रलाई आयआर्जनको भरपर्दो माध्यमका रूपमा स्थापित गर्न सहयोग पु¥याएको छ ।

प्रतिक्रिया