शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रमाइलो डाँडाटोलका विकास संस्थाका जनमुखी अभियान

आइतवार , भाद्र ७, २०८३

 

सिन्धुली ,०७ भदौ– रमाइलो डाँडाटोल टोल विकास संस्था कमलामाई नगरपालिका वडा नं. ७ को नवनिर्वाचित कार्यसमितिको पहिलो भेला तथा बैठक विभिन्न निर्णयसहित सम्पन्न भएको छ । 

बैठकका क्रममा पुरानो कार्यसमितिले संस्थासँग सम्बन्धित आवश्यक कागजात, अभिलेख तथा अन्य दस्तावेज औपचारिक रूपमा नयाँ कार्यसमितिलाई हस्तान्तरण गरेको थियो । हस्तान्तरणसँगै संस्थाको आगामी कार्यदिशा र जिम्मेवारीबारे छलफलसमेत गरिएको थियो ।

नयाँ कार्यसमितिले आफ्नो प्रारम्भिक बैठकलाई प्रशासनिक प्रक्रियामा मात्र सीमित नराखी वातावरण संरक्षण तथा सामुदायिक सहभागितासँग जोडिएको कार्यक्रम अघि बढाएको छ । आगामी तिहार पर्वलाई ध्यानमा राख्दै टोलमा सयपत्री फूलको उत्पादन बढाउने उद्देश्यले टोलवासीलाई छ सयभन्दा बढी सयपत्री फूलका बिरुवा निःशुल्क वितरण गरिएको हो ।

बिरुवा वितरणपछि स्थानीयवासीले आफ्ना घर तथा आँगनमा फूल रोप्ने अवसर पाएका छन् । यसबाट तिहारका लागि आवश्यक फूल स्थानीयस्तरमै उत्पादन गर्न सहयोग पुग्नुका साथै टोलको वातावरण हरियाली बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। टोलवासीले उक्त कार्यक्रमलाई उपयोगी र अनुकरणीय सामुदायिक पहलका रूपमा लिएका छन् ।

कार्यक्रममा अध्यक्ष सेवन्तहरी बख्रेलले संस्थाको प्रभावकारी सञ्चालनका लागि सबै टोलवासीको सहभागिता अनिवार्य रहेको बताए । उनले सामाजिक सेवा, वातावरण संरक्षण र स्थानीय विकास निर्माणका क्षेत्रमा आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

“हाम्रो टोलको विकास हामी सबैको साझा जिम्मेवारी हो। एक्लै अगाडि बढेर होइन, सबै टोलवासीको साथ, सहयोग र सहकार्यबाट मात्र राम्रा कामहरू सम्भव हुन्छन् । आगामी दिनमा पनि सबैलाई समेट्दै रामाइलो डाँडाटोललाई अझ सुन्दर, व्यवस्थित र नमुना टोलका रूपमा विकास गर्ने हाम्रो प्रयास रहनेछ,” अध्यक्ष बख्रेलले भने ।
प्रमुख अतिथि उषा बी.क.ले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिइन । उनले टोलको विकास, सामाजिक गतिविधि र स्थानीय सरोकारका विषयमा वडा तथा जनप्रतिनिधिका तर्फबाट आवश्यक सहयोग र सहकार्य उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन ।

पहिलो बैठककै अवसरमा सयपत्रीका छ सयभन्दा बढी बिरुवा वितरण गरेर रामाइलो डाँडाटोल टोल विकास संस्थाले जनसहभागितामूलक र वातावरणमैत्री कार्यको सुरुवात गरेको छ । आगामी दिनमा पनि स्थानीय आवश्यकता, सुझाव र सामुदायिक हितलाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने संस्थाले जनाएको छ ।

कमलामाई नगरपालिका–७ की जनप्रतिनिधि उषा बी.क.को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सेवन्तहरी बख्रेल (महेश)ले गरेका थिए । कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, पूर्वकार्यसमितिका प्रतिनिधि र उल्लेख्य संख्यामा टोलवासीको सहभागिता थियो।

प्रतिक्रिया