साझेदारीमा फस्टाउँदै सुनकोशी–५ मा व्यावसायिक तरकारी खेती

शनिवार , भाद्र ६, २०८३

सिन्धुली,६ भदौ — सुनकोशी गाउँपालिका–५, बन्दिपुरका किसानले साझेदारीमा सञ्चालन गरिएको व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । बागमती प्रदेश सरकार, सुनकोशी गाउँपालिका र स्थानीय कृषकको संयुक्त पहलमा गाउँमा व्यावसायिक तरकारी उत्पादन सुरु भएपछि किसानको आयआर्जनमा सुधार आउन थालेको हो ।

स्थानीय तह, प्रदेश सरकार र किसानबीचको सहकार्यमा सञ्चालन गरिएको कृषि कार्यक्रमअन्तर्गत बन्दिपुर क्षेत्रमा ठूलो संख्यामा प्लास्टिक टनेल निर्माण गरिएको छ । गाउँमा निर्माण गरिएका करिब १८० भन्दा बढी प्लास्टिक टर्नेलमा अहिले विभिन्न किसिमका तरकारी लटरम्म फलेका छन् । टर्नेलभित्र टमाटर, काक्रा, खुर्सानी र काउलीलगायतका तरकारी उत्पादन भइरहेका छन् ।

परम्परागत खेती प्रणालीमा निर्भर रहेका किसानले आधुनिक प्रविधिको प्रयोग गर्दै वर्षभरि तरकारी उत्पादन गर्ने अवसर पाएका छन् । प्लास्टिक टर्नेलका कारण प्रतिकूल मौसममा समेत बाली संरक्षण गर्न सहज भएको छ । यसबाट उत्पादनमा वृद्धि हुनुका साथै किसानले बजारको मागअनुसार तरकारी उत्पादन गर्न सक्ने अवस्था बनेको छ ।

बन्दिपुरका खेतबारीमा अहिले टमाटरका बोटमा फल झुलेका छन् भने काक्रा, खुर्सानी र काउलीले टनेल क्षेत्र हराभरा बनाएका छन् । गाउँमै तरकारी खेतीको विस्तार भएपछि किसानलाई रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता केही हदसम्म घटेको स्थानीयको भनाइ छ । उत्पादन बिक्रीबाट प्राप्त आम्दानीले घरायसी खर्च व्यवस्थापन गर्न तथा कृषि क्षेत्रमा पुनः लगानी गर्न सहयोग पुगेको छ ।

प्रदेश सरकार, गाउँपालिका र स्थानीय कृषकको साझेदारीमा सञ्चालन गरिएको यो कार्यक्रमले सामूहिक प्रयासबाट कृषि क्षेत्रमा सकारात्मक परिणाम हासिल गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ । सरकारी निकायबाट आवश्यक सहयोग, पूर्वाधार तथा प्राविधिक सहजीकरण उपलब्ध हुँदा स्थानीय किसान व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन् ।

किसानले उत्पादन गरेका तरकारी स्थानीय बजारमा बिक्री हुने गरेका छन् । बजारमा ताजा तरकारीको माग रहेकाले उत्पादनको बजारीकरणमा समेत सहजता देखिएको छ । गाउँमा निर्माण गरिएका प्लास्टिक टर्नेलको प्रभावकारी उपयोगसँगै आगामी दिनमा तरकारी खेतीको क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ ।

कृषि क्षेत्रमा गरिएको यस्तो साझेदारीले किसानको उत्पादन क्षमता बढाउनुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पु¥याउने देखिन्छ । बन्दिपुरका किसानले थालेको व्यावसायिक तरकारी खेतीले आधुनिक कृषि प्रविधि, सरकारी सहकार्य र स्थानीय सहभागिताको संयोजनबाट ग्रामीण क्षेत्रमा आम्दानीका नयाँ सम्भावना सिर्जना गर्न सकिने सन्देश दिएको छ ।

प्रतिक्रिया