सुनकोशी–मरिण डाइभर्सनमा नयाँ निर्माण कम्पनी छनोटको तयारी

बुधवार , भाद्र ३, २०८३

सिन्धुली,०३ भदौ — राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध अर्थात् हेडवक्र्स, विद्युत् गृहसहितका सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानसम्बन्धी कामका लागि सरकारले पुनः ठेक्का प्रक्रिया अघि बढाएको छ । यसअघि उक्त निर्माण कार्यको जिम्मा पाएको निर्माण कम्पनीसँगको सम्झौता तोडिएपछि आयोजना कार्यान्वयनलाई निरन्तरता दिन नयाँ निर्माण व्यवसायी छनोटको प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

आयोजनाको महत्वपूर्ण संरचनाअन्तर्गत पर्ने बाँध, विद्युत् गृह, अन्य सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरणको आपूर्ति र जडानको जिम्मेवारी पटेल–रमण संयुक्त उपक्रमले पाएको थियो । निर्माण कार्य अपेक्षित रूपमा अघि बढ्न नसकेपछि आयोजनाले विक्रम संवत् २०८२ साल कात्तिक २४ गते उक्त संयुक्त उपक्रमसँग ठेक्का सम्झौता अन्त्य गर्ने प्रयोजनका लागि चौध दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

सम्झौतामा उल्लेख भएका प्रावधान र निर्धारित प्रक्रिया पूरा गर्दै गत मंसिर ८ गते पटेल–रमण संयुक्त उपक्रमसँगको ठेक्का औपचारिक रूपमा तोडिएको थियो । त्यसपछि रोकिएको मुख्य निर्माण कार्य पुनः सञ्चालन गर्ने उद्देश्यले नयाँ ठेक्का प्रक्रिया सुरु गरिएको हो । मन्त्रालयका अनुसार पुनः ठेक्काका लागि आवेदन दिएका निर्माण कम्पनीहरूको प्राविधिक तथा अन्य आवश्यक पक्षको मूल्यांकन भइरहेको छ । प्राप्त आवेदनको मूल्यांकन सम्पन्न गरी नयाँ निर्माण कम्पनी छनोटसँगै ठेक्का प्रक्रिया टुङ्ग्याउने तयारी गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको योजना शाखा प्रमुख मोहनकुमार शाक्यका  अनुसार आयोजनाको मूल उद्देश्य सुनकोशी नदीको पानीलाई मरिण खोलामा स्थानान्तरण गरी मधेस प्रदेशका विभिन्न जिल्लामा सिँचाइ सुविधा विस्तार गर्नु हो । आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मधेस प्रदेशमा रहेको करिब एक लाख बाइस हजार हेक्टर खेतीयोग्य जमिनमा व्यवस्थित सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यसबाट पानीको अभावका कारण प्रभावित कृषि क्षेत्रलाई भरपर्दो सिँचाइ प्रणालीसँग जोड्ने आयोजनाको योजना छ ।

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कुल अनुमानित लागत ६१अर्ब ६५ करोड रुपैयाँ रहेको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार हालसम्म आयोजना निर्माणमा करिब १७ अर्ब रुपैयाँ खर्च भइसकेको छ । हाल आयोजनाको वित्तीय प्रगति ३७ दशमलव सात पाँच प्रतिशत पुगेको छ भने भौतिक प्रगति ३४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६÷ ०७७ देखि सुरु भएको यो आयोजना राष्ट्रियस्तरको महत्वपूर्ण बहुउद्देश्यीय पूर्वाधार परियोजनाका रूपमा कार्यान्वयन भइरहेको छ । निर्माणका मुख्य संरचनासँग सम्बन्धित ठेक्का तोडिनुका कारण कार्यतालिकामा प्रभाव परे पनि सरकारले आयोजना सम्पन्न गर्ने नयाँ समयसीमा तय गरेको छ ।

सरकारले अबको पाँच वर्षभित्र आयोजना निर्माण पूरा गर्ने लक्ष्य निर्धारण गरेको छ । निर्धारित कार्ययोजनाअनुसार सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई आर्थिक वर्ष २०८९÷०९० सम्म सम्पन्न गर्ने लक्ष्य छ । नयाँ ठेक्का प्रक्रिया टुंगिएपछि बाँध, विद्युत् गृह, सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरणसम्बन्धी बाँकी निर्माण कार्यले पुनः गति लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया