सिन्धुली,०२ भदौं – बीपी राजमार्गमा रात्रिकालीन समयमा सवारीसाधन सञ्चालनमा लगाइएको रोकका कारण जीवित कुखुरा ढुवानीमा गम्भीर समस्या देखिएको भन्दै सिन्धुलीका कुखुरा कृषक तथा सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीले आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, सिन्धुलीसमक्ष औपचारिक आग्रह गरेको छ । संघले प्रशासनलाई पत्र बुझाउँदै कुखुरा बोकेका सवारीसाधनलाई रातिको समयमा पनि आवतजावत गर्न सक्ने व्यवस्था मिलाउन माग गरेको हो ।
संघका अनुसार सिन्धुली जिल्ला हुँदै काठमाडौँतर्फ कुखुरा ढुवानी गर्ने सवारीसाधन अहिले रात्रिकालीन प्रतिबन्धका कारण दिनको समयमा मात्र सञ्चालन गर्नुपर्ने बाध्यतामा छन् । दिउँसोको चर्को घाम, सडकमा हुने सवारी चाप तथा विभिन्न स्थानमा सिर्जना हुने जामका कारण ढुवानीका क्रममा अत्यधिक कुखुरा मर्ने गरेको गुनासो कृषक तथा व्यवसायीबाट प्राप्त भएपछि प्रशासनको ध्यानाकर्षण गराइएको संघले जनाएको छ ।
जीवित कुखुरा लामो समयसम्म सवारीसाधनभित्र राखेर ढुवानी गर्दा तापक्रम, हावा आवतजावतको अवस्था र यात्राको अवधि संवेदनशील हुने भएकाले दिउँसो लामो समय सडकमा रोकिँदा क्षति बढ्ने व्यवसायीहरूको भनाइ छ । विशेषगरी सिन्धुली हुँदै राजधानीतर्फ जाने कुखुराका गाडी सडक जाममा लामो समयसम्म रोकिनुपर्दा कृषक र व्यवसायीले प्रत्यक्ष आर्थिक क्षति बेहोर्नुपरेको विषय संघसमक्ष पटकपटक उठेको बताइएको छ ।
यही अवस्थालाई सम्बोधन गर्न सिन्धुली उद्योग बणिज्य संघले जिल्ला प्रशासन कार्यालय, सिन्धुलीलाई बुझाएको पत्रमा रात्रिकालीन समयमा कुखुरा ढुवानी गर्ने सवारीसाधनको आवागमनका लागि आवश्यक व्यवस्था तथा सहजीकरण गरिदिन अनुरोध गरिएको छ । संघले सबै प्रकारका सवारीसाधनका लागि लगाइएको रात्रिकालीन रोकको औचित्यलाई चुनौती दिएको नभई जीवित कुखुरा ढुवानीको प्रकृति र त्यसबाट कृषक तथा व्यवसायीले व्यहोर्नुपरेको क्षतिलाई ध्यानमा राखेर विशेष सहजीकरणको माग अघि सारेको हो ।
कुखुरा उत्पादनदेखि बजारसम्मको आपूर्ति शृंखलामा ढुवानी महत्वपूर्ण चरण मानिन्छ । ढुवानीकै क्रममा ठूलो संख्यामा कुखुरा मर्दा त्यसको प्रत्यक्ष असर उत्पादक कृषक, र व्यवसायीमा पर्ने संघको निष्कर्ष छ । यस्तो क्षतिले बजार आपूर्ति व्यवस्थापनमा समेत समस्या सिर्जना गर्न सक्ने भन्दै संघले प्रशासनबाट व्यावहारिक समाधानको अपेक्षा गरेको छ ।
संघले रात्रिकालीन समयमा कुखुरा बोकेका सवारीलाई नियमनसहित आवतजावत गर्न दिइए ढुवानीमा हुने कुखुराको मृत्युदर घटाउन, कृषक तथा व्यवसायीको आर्थिक क्षति कम गर्न र काठमाडौँतर्फ हुने कुखुरा आपूर्ति थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । अब संघको अनुरोधबारे जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले कस्तो निर्णय वा सहजीकरण गर्छ भन्ने विषयमा सम्बन्धित कृषक तथा व्यवसायीको चासो केन्द्रित भएको छ ।