मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

सिन्धुलीमा बजार अनुगमन : म्याद नाघेका ८२ बोरा खाद्य सामग्री बरामद

सोमवार , भाद्र १, २०८३


सिन्धुली,०१ भदौ– बजारमा म्याद गुज्रिएका खाद्यवस्तु बिक्री भइरहेको, दैनिक उपभोग्य सामग्रीको अभाव देखिएको तथा अस्वाभाविक मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो बढेपछि सिन्धुलीमा जिल्ला स्तरीय संयुक्त बजार अनुगमन समितिले सोमबार आकस्मिक बजार अनुगमन गरेको छ । गोप्य रूपमा प्राप्त सूचनालाई आधार बनाएर प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको नेतृत्वमा बजारका विभिन्न व्यवसायमा अनुगमन गरिएको हो ।

अनुगमनलाई निष्पक्ष र प्रभावकारी बनाउन टोलीमा सहभागी सम्बन्धित सरकारी तथा सुरक्षा निकायका प्रतिनिधिलाई समेत कुन व्यवसाय वा पसलमा पुग्ने भन्ने विषय पूर्वजानकारी नगराइएको प्रशासनले जनाएको छ । टोलीका सदस्यलाई आकस्मिक रूपमा तोकिएका पसलमा पु¥याएर कारोबार, खाद्य सामग्रीको अवस्था, बिल–बिजक तथा व्यवसाय सञ्चालनका लागि आवश्यक मापदण्ड जाँच गरिएको थियो ।

संयुक्त अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठसहित जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक, आन्तरिक राजस्व कार्यालय बर्दिबासका कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए। अनुगमनका क्रममा जिल्ला सदरमुकामको रातमाटामा रहेका चार व्यवसाय र ढुंग्रेबास बजारको एउटा खाद्य पसल गरी पाँच स्थानको निरीक्षण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठ नेतृत्वको टोलीले ढुंग्रेबासस्थित कमला सप्लायर्समा अनुगमन गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेल नेतृत्वको अर्को टोलीले रातमाटाका रानी सप्लायर्स, दिनेस ट्रेडर्स, बर्गर हाउस र प्रयास डिपार्टमेन्टल स्टोर्सको कारोबार तथा उपभोक्तालाई बिक्री गरिने वस्तुको अवस्था जाँच गरेको थियो ।

अनुगमनका क्रममा रानी सप्लायर्स र प्रयास डिपार्टमेन्टल स्टोर्सले आवश्यक बिल–बिजक नराखेको तथा निर्धारित मापदण्ड पूरा नगरेको पाइएपछि दुवै व्यवसायलाई जनही २५ हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । ती व्यवसायका सञ्चालकलाई सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशनसमेत दिइएको छ । प्राप्त कागजात र कारोबारको अवस्थाबारे अनुसन्धान गरेर प्रचलित कानुनअनुसार थप कारबाही अघि बढाइने प्रशासनको भनाइ छ ।

ढुंग्रेबासस्थित कमला सप्लायर्समा गरिएको निरीक्षणका क्रममा भने ठूलो परिमाणमा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएको छ । पसलबाट म्याद नाघेका चामल र तिल गरी ८२ बोरा तथा तेललगायतका अन्य सामग्री बरामद गरिएको थिया े। बरामद गरिएका म्याद गुज्रिएका सामग्री अनुगमन टोलीले नष्ट गरेको प्रशासनले जनाएको छ ।

ढुंग्रेबासस्थित प्रोपाइटर जय दास रहेको कमला सप्लायर्समा यो पहिलो घटना भने होइन । गत वर्ष पनि दासका गोदाममा अनुगमन गर्दा म्याद नाघेका खाद्य तथा पेय पदार्थ फेला परेका थिए । तत्कालीन प्रमुख जिल्ला अधिकारी भरत खनालको नेतृत्वमा खटिएको टोलीले त्यतिबेला उनलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गराउँदै म्याद गुज्रिएका सामग्री नष्ट गरेको थियो ।

कमला सप्लायर्सबाट बरामद सामग्रीको खरिद–बिक्री र करसम्बन्धी विवरणसमेत अध्ययन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि आवश्यक बिल–बिजक तथा सम्बन्धित कागजात आन्तरिक राजस्व कार्यालय बर्दिबासका कर्मचारीले साथमा लगेका छन् । उक्त व्यवसायका सञ्चालकलाई पनि बयान तथा आवश्यक सोधपुछका लागि तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुसन्धानबाट देखिने तथ्यका आधारमा कानुनबमोजिम कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।

त्यस्तै, रातमाटास्थित बर्गर हाउस र दिनेस ट्रेडर्समा तत्काल जरिवाना नगरिए पनि वस्तु तथा सेवा बिक्री गर्दा कानुनले तोकेका मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

उपभोक्ताको स्वास्थ्य, सुरक्षित खाद्यवस्तु प्राप्त गर्ने अधिकार, मूल्य र व्यवसायको पारदर्शितासँग जोडिएका गुनासा बढिरहेका बेला गरिएको आकस्मिक अनुगमनलाई जिल्ला प्रशासनले नियमित बजार नियमनकै हिस्साका रूपमा अघि बढाएको छ । प्रशासनका अनुसार आगामी दिनमा पनि सर्वसाधारणबाट प्राप्त हुने सूचना तथा गुनासोका आधारमा बजार अनुगमनलाई निरन्तरता दिइनेछ ।

प्रतिक्रिया