सिन्धुली ,२६ साउन — कमलामाई नगरपालिकाले ऋण लिएर निर्माण गरेको सिन्धुलीमाढीस्थित सिटी हल अन्ततः भाडामा लागेको छ । नगरपालिकाले पटक–पटक ठेक्का आह्वान गर्दा पनि व्यवसायीको आकर्षण नदेखिएको सिटी हल पाँचौँ पटक प्रकाशित सूचनापछि मासिक चार लाख ५० हजार ४८ रुपैयाँ ६७ पैसामा भाडामा गएको हो ।
नगरपालिकाले सिटी हल सञ्चालनका लागि निजी क्षेत्रलाई जिम्मा दिने उद्देश्यसहित यसअघि चारपटकसम्म ठेक्का आह्वान गरेको थियो । तर नगरपालिकाले तोकेको भाडादरमा ठेक्का लिन इच्छुक पक्ष नआएपछि प्रक्रिया पटक–पटक निष्कर्षविहीन बनेको थियो । पाँचौँ पटकको ठेक्का प्रक्रियामा भने ए.के. युनिभर्सल प्रा.लि.ले सिटी हल सञ्चालनको जिम्मेवारी लिएको छ ।
सिटी हल भाडामा लगाउन नगरपालिकाले सुरुमा मासिक सात लाख रुपैयाँभन्दा बढी न्यूनतम रकम कायम गरेर ठेक्का आह्वान गरेको थियो । उक्त दरमा प्रस्ताव नपरेपछि नगरपालिकाले पटक–पटक सूचना प्रकाशन गर्दै भाडामा दिने प्रयास जारी राखेको थियो । तर प्रारम्भिक चरणमा निर्धारण गरिएको रकममा सिटी हल सञ्चालन गर्न कुनै पक्ष तयार नभएपछि नगरपालिकाले भाडादर पुनरवलोकन गर्नुपरेको थियो ।
लगातारका प्रयास सफल नभएपछि चौथोपटक ठेक्का आह्वान गर्दा नगरपालिकाले भाडादर घटाएर मासिक चार लाख ५० हजार रुपैयाँ कायम गरेको थियो । सुरुमा निर्धारण गरिएको सात लाख रुपैयाँभन्दा बढीको दरको तुलनामा उल्लेख्य रूपमा रकम घटाइए पनि चौथोपटकसम्म ठेक्का लाग्न सकेन । निर्धारित दर घटाउँदासमेत इच्छुक पक्ष नआएपछि नगरपालिकाले पाँचौँ पटक पुनः ठेक्का प्रक्रिया अघि बढाएको थियो ।
पाँचौँ सूचनापछि भने ए.के. युनिभर्सल प्रा.लि.ले नगरपालिकाले कायम गरेको न्यूनतम रकमभन्दा केही बढी प्रस्ताव गर्दै सिटी हल ठेक्कामा लिएको हो । कम्पनीले मासिक चार लाख ५० हजार ४८ रुपैयाँ ६७ पैसा तिर्ने गरी ठेक्का पाएको छ । यससँगै लामो समयदेखि भाडामा लगाउने प्रयासमा रहेको नगरपालिकाले सिटी हल सञ्चालनका लागि निजी क्षेत्रसँग सम्झौता गर्ने आधार तयार गरेको छ ।
नगरपालिकाले ऋण लिएर निर्माण गरेको संरचना भएकाले सिटी हलबाट नियमित आम्दानी सुनिश्चित गर्ने विषय महत्वपूर्ण मानिँदै आएको थियो । सुरुआती चरणमा उच्च भाडादर निर्धारण गरिए पनि बजारबाट अपेक्षित प्रतिक्रिया नआएपछि नगरपालिकाले चरणबद्ध रूपमा प्रक्रिया दोहो¥याएको थियो। अन्ततः भाडादर घटाएर गरिएको पाँचौँ प्रयासमा सिटी हल ठेक्कामा गएपछि नगरपालिकाको लामो समयदेखिको भाडामा लगाउने प्रक्रिया निष्कर्षमा पुगेको छ ।