सिन्धुली,२४ साउन — “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सिन्धुलीमा आयोजना गरिएको अठार वर्षमुनिको अन्तरविद्यालय भलिबल प्रतियोगिता ‘सिजन–३’ आइतवार सम्पन्न भएको छ । कमलामाई नगरपालिका–६ स्थित गौमती बाल क्लबको आयोजनामा गौमती माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा आधुनिक बोर्डिङ स्कूलले उपाधि जितेको छ भने आयोजक गौमती माध्यमिक विद्यालय उपविजेता बनेको छ ।
प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आधुनिक बोर्डिङ स्कूलले पहिलो स्थान हासिल गरेको हो । उपाधिका लागि प्रतिस्पर्धा गरेको गौमती माध्यमिक विद्यालयले दोस्रो स्थानमा चित्त बुझाएको छ । प्रतिस्पर्धात्मक बनेको फाइनलसँगै प्रतियोगिताको तेस्रो संस्करण औपचारिक रूपमा समापन गरिएको आयोजकले जनाएको छ ।
स्थानीय तहमा खेलकुद गतिविधिको विकास गर्ने, विद्यालय तहमा रहेका युवा प्रतिभाको पहिचान गर्ने तथा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीबीच आपसी भाइचारा र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । जिल्लाका विभिन्न विद्यालयको उत्साहजनक सहभागिता रहेको प्रतियोगितामा अठार वर्षमुनिका विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिता अवधिभर सहभागी टोलीका खेलाडीले आफ्नो खेल कौशल प्रस्तुत गरेका थिए । विभिन्न विद्यालयबीच भएका खेल प्रतिस्पर्धात्मक बनेका थिए भने खेलाडीको प्रदर्शनले उपस्थित दर्शकलाई रोमाञ्चित बनाएको थियो। विद्यालय तहबाटै खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउँदै उनीहरूको क्षमता पहिचान तथा विकासमा सहयोग पु¥याउने उद्देश्य प्रतियोगिताले लिएको आयोजकको भनाइ छ ।
समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा आयोजक गौमती बाल क्लबका प्रतिनिधिहरूले विजेता र उपविजेता टोलीका खेलाडीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । उनीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी तथा टोलीलाई बधाईसमेत दिएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले उमेर समूहलाई लक्षित गरी सञ्चालन गरिने यस्ता खेलकुद प्रतियोगिता विद्यार्थीको बहुआयामिक विकासका लागि उपयोगी हुने बताएका थिए । उनीहरूले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा योगदान पु¥याउनुका साथै अनुशासन, समूहगत सहकार्य, प्रतिस्पर्धात्मक क्षमता र जिम्मेवारीबोध विकास गरी अनुशासित नागरिक तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखेका थिए ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सञ्चालन गरिएको प्रतियोगितालाई स्थानीय स्तरका विभिन्न व्यावसायिक तथा सामाजिक संघ–संस्थाले सहयोग गरेका थिए । प्रतियोगिता सञ्चालनदेखि समापनसम्म विभिन्न क्षेत्रबाट प्राप्त सहकार्यले कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न गर्न मद्दत पुगेको आयोजकले जनाएको छ ।
गौमती बाल क्लबले प्रतियोगिताको तेस्रो संस्करण सफलतापूर्वक तथा भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सहभागी विद्यालय, खेलाडी, सहयोगी व्यावसायिक तथा सामाजिक संघ–संस्था, अतिथि र दर्शकप्रति धन्यवाद व्यक्त गरेको छ । क्लबले विद्यालयस्तरीय खेलकुदमार्फत नयाँ खेल प्रतिभाको पहिचान, विद्यार्थीमा स्वस्थ प्रतिस्पर्धाको विकास तथा स्थानीय खेलकुद गतिविधिलाई थप सक्रिय बनाउन प्रतियोगिता महत्वपूर्ण बनेको जनाएको छ ।