काठमाडौं,०८ असोज – २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डी प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले प्रतियोगितामा कम्तीमा कास्य पदक पक्का गरेको हो ।
जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको प्रतिस्पर्धामा नेपालले श्रीलंकालाई ३४–२५ को स्कोरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । सुरुवातदेखि नै नियन्त्रण कायम गरेको नेपालले पहिलो हाफमा १९–१३ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि नेपालले आफ्नो लय कायम राख्दै १५–१२ को अग्रता निकाल्यो र समग्रमा ३४–२५ को सहज जित दर्ता ग¥यो ।
समूह चरणमा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग हार बेहोरेको थियो । समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइले पनि सेमिफाइनलको यात्रा तय गरेका छन् ।
सेमिफाइनल प्रवेशसँगै नेपाली महिला कबड्डी टोलीले एसियन गेम्समा पदक जित्ने निश्चित गरेको छ । अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा जित हासिल गर्न सके नेपालले स्वर्ण वा रजत पदकका लागि खेल्ने अवसर पाउनेछ भने पराजित भए पनि कास्य पदक सुनिश्चित हुनेछ ।
नेपाली महिला कबड्डी टोलीले यसअघि १९औं एसियन गेम्समा पनि उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक जितेको थियो । लगातार दोस्रो पटक एसियन गेम्समा पदकको सम्भावना बलियो बनाउँदै नेपालले महिला कबड्डीमा आफ्नो प्रभाव स्थापित गरेको छ ।
समूह चरणका खेलमा देखिएको टोलीको समन्वय, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताले आगामी खेलका लागि नेपाली टोलीको आत्मविश्वास बढाएको छ । अब नेपालको लक्ष्य सेमिफाइनल बाधा पार गर्दै एसियन गेम्सको फाइनल यात्रा तय गर्नु हुनेछ ।