सिन्धुली — कमलामाई नगरपालिकाले जिल्लामै पहिलो पटक जलनमा परेका नगरबासीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै नगरपालिकाले कीर्तिपुर बर्न अस्पतालसँगको सहकार्यमा यस्तो सेवा सुनिश्चित गरेको जनाएको छ ।
नगरपालिकाका अनुसार जलनका बिरामीले उपचारका क्रममा भोग्नुपर्ने आर्थिक कठिनाइलाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरिएको हो । यससँगै कमलामाई नगरपालिकाभित्रका जलनमा परेका सम्पूर्ण नागरिकले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य हुने विश्वास गरिएको छ ।
जलनलाई अत्यन्त पीडादायी स्वास्थ्य समस्या मानिन्छ । उपचार प्रक्रिया पनि जटिल र खर्चिलो हुने भएकाले धेरै परिवार आर्थिक रूपमा प्रभावित हुने गरेका छन् । यही यथार्थलाई सम्बोधन गर्दै नगरपालिकाले उपचारको पहुँचलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यले कीर्तिपुर बर्न अस्पतालसँग सहकार्य गरेको हो । नगरपालिकाले यो निर्णयले नागरिकको स्वास्थ्य सुरक्षामा स्थानीय सरकारको जिम्मेवारीलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा व्यक्त गरेको छ ।
नगरपालिकाका अनुसार यो पहल केवल स्वास्थ्य सेवा विस्तारको कार्यक्रम मात्र नभई नागरिकको जीवनप्रतिको सम्मान, मानवीय संवेदना र उत्तरदायी स्थानीय शासनप्रतिको प्रतिबद्धताको अभिव्यक्ति पनि हो । स्थानीय सरकारको दायित्व नागरिकको आवश्यकता र संकटमा साथ दिनु रहेको उल्लेख गर्दै नगरपालिकाले स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।
यस कार्यक्रममार्फत जलनका कारण उपचार आवश्यक पर्ने कमलामाई नगरपालिकाका कुनै पनि नागरिकले आर्थिक समस्याका कारण उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था गरिएको नगरपालिकाको भनाइ छ । यसले विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको छ ।
नगरपालिकाले नागरिकको स्वास्थ्य अधिकारको संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि जनमुखी तथा प्रभावकारी स्वास्थ्य कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । स्थानीय सरकार नागरिकको दुःख–सुखमा साथ रहने मूल मान्यताअनुसार अघि बढिरहेको उल्लेख गर्दै कमलामाई नगरपालिका मेयर उपेन्द्रकुमार पोखरेलले “जनताको दुःखमा साथ दिनु नै सच्चा जनप्रतिनिधिको धर्म हो” भन्ने विश्वासका साथ सेवा प्रवाहलाई थप सुदृढ बनाइने जनाए ।
उनले नागरिकको विश्वास र आवश्यकतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा विस्तारका यस्ता कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता दोहो¥याए ।