सिन्धुली,१८ साउन — सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार भएको सडक दुर्घटनामा सुनकोशी नदीमा कारसहित बेपत्ता भएका तिन जना मध्ये दुई जनाकोपहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनएको छ । बसको ठक्करपछि सडकबाट तल खसेको कार नदीमा बगेपछि चालकसहित तिन जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ गइरहेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बस ले सोही दिशा बाठ जादैगर्दा सडक किनारमा रोकेर राखिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कार लाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करको बलले कार सडकबाट करिब ५० फिट तल रहेको सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।
नदीमा खसेको कारका चालक भने सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी करिब ३९ वर्षीय दिलकुमार लामा रहेको प्रहरीले पुष्टि गरेको छ । कारमा चालक लामासहित सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ निवासी करिब २७–२८ वर्षीय स्काईभेटर चालक गणेश थापा, उनीसँगै रहेका सहचालक (हेल्पर) को नाम,थर ठेगाना खुलेको छैन ।
दुर्घटनामा परेको बस सिन्धुलीको फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङ ले चलाइरहेका थिए । दुर्घटनालगत्तै प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायको टोली घटनास्थलमा परिचालन गरिएको छ । नदीमा डुबेको कार तथा बेपत्ता तिनै जनाको खोजी र उद्धार कार्य निरन्तर जारी रहेको जिल्ला प्रहरी सिन्धुलीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न बस र त्यसका चालक हेमबहादुर तामाङलाई नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङ मा राखेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।
नदीको बहाव, भौगोलिक अवस्था तथा घटनास्थलको जटिलताका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ । बेपत्ता तिनै जनाको अवस्थाबारे यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।