मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

बिपी राजमार्गको सीमा क्षेत्रकोअन्योल अन्त्य

सोमवार , श्रावण १८, २०८३

सिन्धुली,१८ साउन – बिपी राजमार्गअन्तर्गत बनेपा –सिन्धुली– बर्दिबास– सडक खण्डको दायाँ र बायाँ गरी कुल ६२ मिटर क्षेत्र सडक सीमा तथा सेटब्याकभित्र पर्ने तथ्य आयोजनाको पुरानो आधिकारिक पत्रबाट खुलेको छ । सडक आयोजनाले सम्बन्धित सरकारी निकायलाई पठाएको पत्रमा सडकको केन्द्ररेखाबाट दुवैतर्फ २५–२५ मिटर सडक सीमास्पष्ट उल्लेख गरिएको छ ।

पत्रमा उल्लेखित मापदण्डअनुसार सडकको दायाँतर्फ २४ मिटर र बायाँतर्फ २५ मिटर गरी मूल सडक क्षेत्र पचास मिटर हुन्छ । त्यस स्थानिय सरकारबाट घरको नक्सा पास गराउदा सेटब्याक कायम गर्नुपर्ने दुवैतर्फको ६–६ मिटर अर्थात् कुल बाह्र मिटर सेटब्याक थप्दा सडकले ओगट्ने तथा संरचना निर्माण गर्न नपाइने कुल क्षेत्र ६२ मिटर कायम हुने देखिन्छ ।

तत्कालीन आयोजना प्रमुख विन्दु शमशेर जबराले जारी गरेको उक्त पत्रमा सडक सीमा तथा निर्माण क्षेत्रमा पर्ने घर, पर्खाल, टहरा र अन्य भौतिक संरचना हटाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । सडक निर्माण, मर्मत, विस्तार तथा स्तरोन्नतिका क्रममा आवश्यक मापदण्डअनुसार सडक क्षेत्र खाली राख्नुपर्ने विषय पनि पत्रमा स्पष्ट पारिएको छ ।

बिपी राजमार्गको बनेपा– सिन्धुली– बर्दिबास खण्डमा पछिल्लो समय सडक क्षेत्र अतिक्रमण गरी घर, टहरा, पसल तथा अन्य संरचना निर्माण गर्ने क्रम बढेको गुनासो आइरहेका बेला पुरानो सरकारी पत्र सार्वजनिक भएको हो । सडकको वास्तविक सीमा कति हो भन्ने विषयमा स्थानीय तहमा लामो समयदेखि अन्योल तथा फरक–फरक धारणा देखिँदै आएका थिए ।

आयोजनाले नै जारी गरेको लिखित दस्तावेज सार्वजनिक भएपछि सडक सीमा निर्धारणको आधिकारिक आधार थप स्पष्ट भएको सरोकारवालाहरूले बताएका छन् । उनीहरूका अनुसार सडकको दीर्घकालीन सुरक्षा, नियमित मर्मत, सम्भावित विस्तार तथा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्धारित सडक सीमा र सेटब्याक क्षेत्र संरक्षण गर्न आवश्यक छ ।

सडक क्षेत्रभित्र अनधिकृत रूपमा संरचना निर्माण गर्ने क्रम नरोकिए भविष्यमा सडक विस्तार र स्तरोन्नतिको काम जटिल बन्न सक्ने देखिएको छ । अतिक्रमणका कारण सडक साँघुरिने, सवारी आवागमन प्रभावित हुने तथा पैदलयात्री र स्थानीय बासिन्दाको सुरक्षामा समेत जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि पनि सडकको निर्धारित सीमा खाली र सुरक्षित राख्नुपर्ने प्राविधिकहरूको भनाइ छ ।

स्थानीय सरोकारवालाले आयोजनाको पुरानो पत्रमा उल्लेखित मापदण्डका आधारमा सडक सीमा पुनः नापजाँच गर्न, सडक क्षेत्रभित्र बनेका संरचनाको अभिलेख तयार गर्न र कानुनअनुसार अतिक्रमण हटाउन माग गरेका छन् । सडक सीमा यकिन नगरी जथाभावी संरचना निर्माण गर्न दिइए भविष्यमा सरकार र स्थानीय बासिन्दाबीच विवाद उत्पन्न हुन सक्ने उनीहरूको धारणा छ ।

पुरानो पत्रमा उल्लेख गरिएको २५–२५ मिटर सडक सीमा र ६–६ मिटर सेटब्याकको व्यवस्थाले बनेपा–सिन्धुली– बर्दिबास– सडक खण्डको कुल क्षेत्र ६२ मिटर रहेको दाबीलाई आयोजनाकै आधिकारिक लिखित दस्तावेजले आधार दिएको छ । अब उक्त मापदण्ड कार्यान्वयन गर्दै सडक क्षेत्रको संरक्षण गर्नु सम्बन्धित आयोजना, स्थानीय तह र प्रशासनको प्रमुख दायित्वका रूपमा देखिएको छ ।

bp.jpg
undefined

प्रतिक्रिया