सिन्धुली,१७ साउन— जिल्लामा यौनजन्य हिंसाका घटना अपेक्षित रूपमा घट्न नसकेको प्रहरी तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आर्थिक वर्ष २०८२/०८३ मा मात्रै यौनजन्य हिंसासम्बन्धी ३३ वटा घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार पछिल्लो एक वर्षमा उक्त संख्याका उजुरी तथा मुद्दा प्रहरीसमक्ष पुगेका हुन् ।
प्रहरी दिएकोे तीन वर्षे तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म जिल्लामा यौनजन्य हिंसाका कुल १०५ घटना दर्ता भएका छन् । तीमध्ये आर्थिक वर्ष २०८१÷०८२ मा सबैभन्दा धेरै ४१ घटना दर्ता भएका थिए। आर्थिक वर्ष २०८०/०८१ मा ३१ र २०८२/०८३ मा ३३ घटना दर्ता भएको कार्यालयले जनाएको छ । तीन आर्थिक वर्षको तुलना गर्दा घटनाको संख्या स्थिर रूपमा घटेको देखिँदैन। पहिलो वर्षको तुलनामा दोस्रो वर्ष १० घटना बढेका थिए भने तेस्रो वर्ष अघिल्लो वर्षभन्दा आठ घटना कम भएका छन् । पछिल्लो वर्ष केही कमी आए पनि समग्र अवस्थाले यौनजन्य हिंसा नियन्त्रण अझै चुनौतीपूर्ण रहेको देखाउँछ ।
दर्ता भएका घटनामध्ये बलात्कारका मुद्दा सबैभन्दा बढी छन् । पछिल्ला तीन आर्थिक वर्षमा बलात्कारसम्बन्धी ६६ मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा २०, २०८१/०८२ मा ३० र २०८२/०८३ मा २६ वटा बलात्कारका घटना प्रहरी अभिलेखमा समेटिएका छन् । अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्ष चार घटना घटे पनि तीन वर्षको कुल संख्याले जोखिमको गम्भीरता कायम रहेको संकेत गर्छ ।
यस अवधिमा बलात्कार प्रयासका २१ घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा आठ, २०८१/०८२ मा १० र २०८२/०८३ मा तीन घटना दर्ता भएका हुन् । पछिल्लो आर्थिक वर्षमा संख्या घटेको देखिए पनि यस्ता अपराधको रोकथाम, समयमै उजुरी र पीडितको सुरक्षालाई निरन्तर प्राथमिकतामा राख्नुपर्ने प्रहरीको निष्कर्ष छ ।
बाल यौनदुर्व्यवहारका घटना भने पछिल्लो वर्ष बढेका छन् । तीन वर्षमा दर्ता भएका छ घटनामध्ये आर्थिक वर्ष २०८२/०८३ मा मात्रै चार घटना परेका छन् । आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ मा एक–एक घटना दर्ता भएका थिए। पछिल्लो वर्षको वृद्धि अघिल्ला दुई वर्षको तुलनामा उल्लेखनीय छ । यो अवस्थाले बालबालिकाको सुरक्षा, विद्यालय र परिवारस्तरको निगरानी तथा उजुरी प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।
वैवाहिक बलात्कारका दुई घटना आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका थिए । त्यसपछिका आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ मा वैवाहिक बलात्कारसम्बन्धी कुनै उजुरी दर्ता नभएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
यौनजन्य हिंसा न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम, विद्यालय केन्द्रित सचेतना अभियान र कानुनी पहुँच विस्तारलाई प्रभावकारी बनाउनुपर्ने प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार सरकारी निकाय, स्थानीय तह, विद्यालय, परिवार, नागरिक समाज र समुदायबीच सहकार्य तथा आपसी सहयोग बढाएर प्रत्यक्ष क्षेत्रमै कार्यक्रम सञ्चालन गर्न सके यस्ता घटनामा कमी ल्याउन सकिन्छ । यसका लागि निरन्तर, योजनाबद्ध र परिणाममुखी संयुक्त पहल आवश्यक देखिन्छ ।