सिन्धुली,१६ साउन – रैथाने बाली कोदोको संरक्षण, उत्पादन वृद्धि र उपभोग विस्तार गर्ने उद्देश्यसहित सिन्धुलीमा ‘दोस्रो राष्ट्रिय कोदो दिवस’ मनाइएको छ । दिवसका अवसरमा शनिबार कमलामाई नगरपालिकास्थित चिल्ड्रेन पार्कमा कोदोजन्य परिकारको प्रदर्शनी आयोजना गर्नुका साथै व्यावसायिक रूपमा कोदो खेती गर्दै आएका जिल्लाका दस जना कृषकलाई सम्मान गरिएको हो ।
“कोदोबालीको संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा संवर्धन” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले कोदो उत्पादनमा उल्लेखनीय योगदान पुर् याएका उत्कृष्ट कृषकलाई प्रमाणपत्र प्रदान गरेको थियो । सम्मानित हुनेमा कमलामाई नगरपालिका–४ का तारा शर्मा, जमुना कुमारी पुरी र कल्पना विसंखे, कमलामाई नगरपालिका–९ का गिता कुमारी दाहाल तथा कमलामाई नगरपालिका–१ का इन्दु कुमारी थापा रहेका छन् ।
यसैगरी, फिक्कल गाउँपालिका–६ का लोकन्द्र कार्की, घ्याङलेख गाउँपालिका–१ का गणेश बहादुर ङ्यासुर, गोलन्जोर गाउँपालिका–३ का पदम बहादुर दमाई, मरिण गाउँपालिका–१ का हर्क बहादुर भोलन र सुनकोशी गाउँपालिका–२ का विश बहादुर मग्राती पनि सम्मानित भएका छन् । कृषिमा निरन्तर संलग्न भई कोदोको व्यावसायिक खेती र उत्पादन विस्तारमा पु¥याएको योगदानको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
बिहान ११ बजेदेखि सुरु भएको प्रदर्शनीमा कोदोबाट तयार गरिएका विभिन्न स्वादिष्ट तथा स्वास्थ्यवद्र्धक परिकार राखिएका थिए। कोदोको मःम, रोटी र ढिँडोसहित विभिन्न पकवान प्रदर्शनीका मुख्य आकर्षण बनेका थिए। प्रदर्शनीले कोदोबाट परम्परागत परिकारसँगै नयाँ स्वाद र स्वरूपका खाद्यवस्तु बनाउन सकिने सम्भावना देखाएको थियो। यसले कोदोको प्रयोग घरायसी भोजनमा मात्र सीमित नरही साना उद्यम, स्थानीय बजार र आयआर्जनसँग समेत जोडिन सक्ने सन्देश दिएको आयोजकको भनाइ छ ।
कार्यक्रम जिल्ला कृषि विकास कार्यालय सिन्धुली र कमलामाई नगरपालिका–६ स्थित सौगात लघु उद्यम सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा सम्पन्न भएको हो । आयोजकका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य स्थानीय कृषि प्रवर्धन गर्नु, रैथाने बालीको महत्वबारे जनचेतना बढाउनु र कोदोजन्य उत्पादनलाई बजारसँग जोड्नु रहेको थियो ।
कोदो पौष्टिक र स्वास्थ्यवद्र्धक अन्न भए पनि पछिल्ला वर्षमा यसको खेती तथा उपभोग अपेक्षित रूपमा विस्तार हुन नसकेको सन्दर्भमा दिवसले यसको संरक्षण र प्रवर्धनको आवश्यकता उजागर गरेको छ । स्थानीय तह, कृषि निकाय, सहकारी, कृषक र उद्यमीबीच सहकार्य बढाउन सकिए कोदोको उत्पादन, प्रशोधन, परिकार विविधीकरण र बजारीकरणमा थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
कोदोको उपभोग बढाउन यस्ता कार्यक्रमले पोषण मूल्यबारे जानकारी विस्तार गर्ने, स्थानीय उद्यमीलाई नयाँ परिकार उत्पादनतर्फ प्रोत्साहन गर्ने र कृषकलाई व्यावसायिक खेतीमा टिकाइराख्न सहयोग पुग्ने विश्वास लिइएको छ । रैथाने बालीको संरक्षणलाई खाद्य तथा पोषण सुरक्षासँग जोडेर अघि बढाउन सकिए कोदो सिन्धुलीका कृषकका लागि आयआर्जनको भरपर्दो आधार बन्न सक्ने अपेक्षा आयोजकले गरेका छन् । कार्यक्रमले परम्परागत खाद्य संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई कोदोको उपयोगिता, स्वाद, पोषण र व्यावसायिक सम्भावनाबारे परिचित गराएको बताइएको छ ।