मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

यथार्थ लागत नहुँदा सुनकोशीका दुई पुल अलपत्र

शनिवार , श्रावण १६, २०८३

सिन्धुली,१६ साउन — बजार मूल्यसँग नमिल्ने लागत अनुमान र अव्यावहारिक दररेटका कारण करिब एक अर्ब रुपैयाँ बराबरका सुनकोशी नदीमाथिका दुई महत्वपूर्ण पुल निर्माण आयोजनाको ठेक्का प्रक्रिया असफल भएको छ । सडक डिभिजन कार्यालय, खाल्टे सिन्धुलीले आह्वान गरेको ‘डिजाइन एण्ड विल्ड’ प्रकृतिका यी दुवै आयोजनामा निर्माण व्यवसायीहरूले बोलपत्र नै पेश नगरेपछि ठेक्का लाग्न नसकेको हो ।

निर्माण व्यवसायीहरूले सरकारी लागत अनुमान वास्तविक बजार अवस्थासँग मेल नखाएको, निर्माण सामग्री, श्रमिक, उपकरण, वित्तीय भार तथा प्राविधिक जोखिमलाई पर्याप्त रूपमा समेट्न नसकेको दाबी गरेका छन् । उनीहरूका अनुसार तोकिएको लागतभित्र काम सम्पन्न गर्न सम्भव नदेखिएपछि व्यवसायीहरू बोलपत्र प्रक्रियामा सहभागी हुन नसकेका हुन् ।

सडक डिभिजन कार्यालय, खाल्टे सिन्धुलीका सुचना इन्जिनियर तुलाकान्त चौधरीका अनुसार कार्यालयले गत वैशाख १७ गते चारवटा विभिन्न शीर्षकमा ठेक्का आह्वान गरेको थियो । तीमध्ये सुनकोशी नदीमा निर्माण हुने दुईवटा ठूला पुलका लागि भने कुनै पनि निर्माण कम्पनीले बोलपत्र दर्ता गरेनन् । 

इन्जिनियर चौधरीले ठेक्का नलाग्नुको कारणबारे स्पष्ट पार्दै भने, “कन्ट्रक्टरहरूले बिड गरेनन् । उनीहरूले तोकिएको रकममा काम गर्न नसकिने अवस्था देखाए । ‘डिजाइन एण्ड विल्ड’ मोडलअनुसार काम गर्दा निर्माण व्यवसायीमाथि थप जिम्मेवारी र जोखिम हुने भएकाले समस्या आएको हो ।”

उनका अनुसार यस विषयमा विभागमा आवश्यक प्रक्रिया अघि बढाइएको छ । आगामी दिनमा लागत अनुमान पुनरावलोकन गरी थप बजेट माग गर्ने वा प्रचलित कानुनी प्रक्रियाअनुसार अघि बढ्ने तयारी भइरहेको छ ।

सडक डिभिजन खाल्टे सिन्धुलीकोे सूचनाअनुसार सुनकोशी नदीमा निर्माण हुने दुईवटा पुलमध्ये पहिलो आयोजना खुर्काेट–मन्थली सडक खण्डअन्तर्गत खुर्काेटमा निर्माण हुने सुनकोशी पुल हो, जसको ठेक्का नम्बर RDKHT/DB/३७०११३२/०८२/०८३-२५ रहेको छ । त्यस्तै दोस्रो आयोजना बीपी राजमार्गदेखि मध्यपहाडी लोकमार्ग जोड्ने नेपथोकमा निर्माण हुने सुनकोशी पुल हो, जसको ठेक्का नम्बर RDKHT/DB/३३७०११३२÷०८२/०८३-२६ रहेको छ । यी दुवै आयोजनाको कुल लागत अनुमान करिब एक अर्ब रुपैयाँ रहेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले पनि ठेक्का प्रक्रिया असफल भएको विषयलाई गम्भीर रूपमा लिएको छ । महासंघका प्रवक्ता मंगलबहादुर शाहीले आयोजनाका लागि तयार गरिएको लागत अनुमान, दररेट र ठेक्का सर्तहरू वर्तमान बजार अवस्था, निर्माण क्षेत्रको वास्तविकता र परियोजनामा रहेको जोखिमसँग मेल नखाएकाले व्यवसायीहरू सहभागी हुन नसकेको बताए ।

“निर्माण व्यवसायीहरू प्रतिस्पर्धाबाट पछि हटेका होइनन्,” प्रवक्ता शाहीले भने, “अवास्तविक लागत अनुमान, उच्च प्राविधिक तथा वित्तीय जोखिम र व्यवसायिक रूपमा घाटा हुने सम्भावनाका कारण उनीहरू बोलपत्र प्रक्रियामा सहभागी हुन सकेनन् ।”

महासंघका अनुसार ‘डिजाइन एण्ड विल्ड’ प्रकृतिका आयोजनामा डिजाइन तयार गर्ने र निर्माण सम्पन्न गर्ने सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायीकै हुन्छ । यस्तो अवस्थामा लागत अनुमान तयार गर्दा निर्माण सामग्रीको मूल्य, श्रमिक खर्च, उपकरण सञ्चालन लागत, वित्तीय व्यवस्थापन, जोखिम व्यवस्थापन र प्राविधिक जटिलतालाई यथार्थ रूपमा समेट्नुपर्ने हुन्छ ।

महासंघले आगामी दिनमा यस्ता ठूला पूर्वाधार आयोजनाका ठेक्का आह्वान गर्दा वास्तविक बजार मूल्यमा आधारित लागत अनुमान तयार गर्न, व्यावहारिक ठेक्का सर्त बनाउन र निजी क्षेत्रसँग पर्याप्त छलफल गरेर मात्र खरिद प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

सरकार र निर्माण क्षेत्रबीच समन्वय हुन सके मात्र स्वस्थ प्रतिस्पर्धा कायम हुने, गुणस्तरीय पूर्वाधार निर्माण हुने र विकास आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न सहयोग पुग्ने महासंघको भनाइ छ । सुनकोशीका यी दुई पुलको ठेक्का प्रक्रिया असफल हुनुले ठूला पूर्वाधार आयोजनामा लागत निर्धारण र जोखिम व्यवस्थापनको प्रभावकारितामाथि पुनः प्रश्न उठाएको छ ।

प्रतिक्रिया