मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

अनुदानको मल वितरणमा कमलामाईको पहल

शनिवार , श्रावण १६, २०८३

सिन्धुली,१६ साउन — कमलामाई नगरपालिकाले अनुदानमा उपलब्ध हुने रासायनिक मलको व्यवस्थित बिक्री तथा वितरणका लागि सहकारी संस्थाहरूलाई आवेदन आह्वान गरेको छ । नगरपालिकाको कार्यालय, सिन्धुलीमाढीले सूचना जारी गर्दै नगर क्षेत्रभित्र रहेका इच्छुक सहकारी संस्थालाई मल बिक्री–वितरण व्यवस्थापनमा सहभागी हुन आग्रह गरेको हो ।

नगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार स्थानीय तहमा अनुदानको रासायनिक मल वितरण व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम आर्थिक वर्ष २०८३÷८४ का लागि कृषि सामग्री संस्थान तथा अन्य सम्बन्धित निकायबाट प्राप्त हुने मलको बिक्री वितरण गर्न सहकारी संस्था छनोट गर्न लागिएको हो । नगरपालिकाले तोकेको मापदण्ड पूरा गर्ने सहकारी संस्थाले निर्धारित समयभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, “अनुदानको रासायनिक मल बिक्री वितरण गर्न सूचीकृत÷नवीकरण हुने सम्बन्धी सूचना” अन्तर्गत आवेदन माग गरिएको हो । नगरपालिकाले अन्तिम मिति समाप्त भएपछि प्राप्त हुने आवेदनलाई मान्यता नदिइने स्पष्ट पारेको छ । साथै, तोकिएको प्रक्रिया पूरा नगरेका तथा आवश्यक मापदण्ड नपुगेका निवेदकको आवेदन स्वीकृत नहुने जानकारीसमेत दिइएको छ ।

सहकारी संस्था छनोटका लागि नगरपालिकाले विभिन्न कागजात अनिवार्य गरेको छ । आवेदनसँगै सहकारी दर्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, सहकारी संस्था सूचीकृत वा नवीकरण भएको प्रमाण, सहकारीको स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्रको प्रतिलिपि तथा सहकारी संस्थाको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन बुझाउनुपर्नेछ ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को कर चुक्ता प्रमाणपत्र, सहकारी संस्थाको नियमावलीको प्रतिलिपि, सञ्चालक समिति, पदाधिकारी, कर्मचारी तथा सम्पर्क व्यक्तिको विवरण पनि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

नगरपालिकाले मल बिक्री वितरणका लागि जिम्मेवार व्यक्ति तोकिएको निर्णयको प्रतिलिपि र कार्यक्षेत्रको अनुसूची–२ बमोजिमको प्रतिबद्धता पत्रसमेत माग गरेको छ । नगरपालिकाका अनुसार कृषि सहकारी संस्थालाई छनोट प्रक्रियामा प्राथमिकता दिइनेछ ।

कमलामाई नगरपालिकाले सहकारी संस्थाहरूलाई तोकिएको अवधिभित्र आवेदन बुझाउन आग्रह गर्दै थप जानकारी आवश्यक परे नगरपालिकाको कृषि शाखा तथा सूचना प्रविधि शाखामा सम्पर्क गर्न सकिने जनाएको छ । सूचना नगरपालिकाको आधिकारिक फेसबुक पेज र वेबसाइटमा समेत प्रकाशन गरिएको छ ।

759224457_925501743159009_2722446873560664111_n (1).jpg
undefined

प्रतिक्रिया