मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

कमलामाई दुग्ध सहकारी बन्यो सिकाइको केन्द्र

शुक्रवार , श्रावण १५, २०८३


सिन्धुली,— कमलामाई नगरपालिकाको भूमि व्यवस्था तथा सहकारी शाखाको आयोजनामा सहकारी संस्थाबीच अनुभव आदान–प्रदान तथा असल अभ्यास सिकाइसम्बन्धी अन्तर–सिकाइ कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाभित्र रहेका सहकारी संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा २५ वटा सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

भूमि व्यवस्था तथा सहकारी शाखा प्रमुख मुकेश तामाङको नेतृत्वमा भएको उक्त कार्यक्रम कमलामाई नगरपालिका–४ स्थित कमलामाई उद्यमी दुग्ध सहकारी संस्था लिमिटेडमा सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागी सहकारीकर्मीहरूले उक्त सहकारीले अपनाउँदै आएको व्यवस्थापन प्रणाली, उत्पादन प्रक्रिया, संस्थागत विकासका अभ्यास, दिगोपनका आधार तथा हालसम्म हासिल गरेका उपलब्धिहरूको प्रत्यक्ष अवलोकन गरेका थिए ।

अन्तर–सिकाइ कार्यक्रममा कमलामाई उद्यमी दुग्ध सहकारी संस्थाकी अध्यक्ष गुणकुमारी घिमिरेले सहकारीको स्थापना, सञ्चालन प्रक्रिया, कार्यदिशा तथा संस्थाले हासिल गरेका महत्वपूर्ण उपलब्धिबारे सहभागीहरूलाई जानकारी गराएकी थिइन् । उनले सहकारीले स्थानीय किसान, उत्पादन वृद्धि र ग्रामीण अर्थतन्त्रमा पु¥याउँदै आएको योगदानबारे समेत प्रकाश पारेकी थिइन् ।

अध्यक्ष घिमिरेका अनुसार दक्षिण कोरियाको सहयोगमा नेपाल सरकारसँगको समन्वय तथा हेफरको सहकार्यमा नेपालमै पहिलो पटक होलस्टाइन जातका गाई वितरण गरिएको थियो । त्यसपछि यस क्षेत्रको दुग्ध उत्पादनमा उल्लेखनीय वृद्धि भएको उनले जानकारी दिइन् । हाल सहकारीले दैनिक करिब २ हजार ४ सय लिटर दूध संकलन गर्दै विभिन्न दुग्धजन्य परिकार उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ ।

कार्यक्रमका क्रममा सहभागी टोलीले सहकारीद्वारा सञ्चालन गरिएको दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थलगत निरीक्षणसमेत गरेको थियो। निरीक्षणका क्रममा सहभागीहरूले सहकारी सञ्चालनका व्यवहारिक अनुभव, व्यवस्थापन प्रणाली, दीर्घकालीन दिगोपन, उत्पादन विस्तारका सम्भावना तथा संस्थाले सामना गर्नुपरेका चुनौतीबारे जानकारी लिँदै अन्तरक्रियात्मक छलफल गरेका थिए ।

कार्यक्रममा कमलामाई उद्यमी दुग्ध सहकारी संस्थाले जिल्लाको दुग्ध क्षेत्रको विकासमा पु¥याएको योगदानको प्रशंसा गरिएको थियो । स्थानीय किसानको आयआर्जन वृद्धि, रोजगारी सिर्जना तथा सामाजिक–आर्थिक रूपान्तरणमा सहकारीले खेलेको भूमिकालाई सहभागीहरूले महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका थिए ।

सहकारीबीच हुने यस्ता अन्तर–सिकाइ कार्यक्रमले एक संस्थाको सफल अभ्यास अर्को संस्थासम्म पु¥याउन, अनुभव साटासाट गर्न तथा सहकारी क्षेत्रको संस्थागत क्षमता बलियो बनाउन सहयोग पुग्ने सहभागीहरूको भनाइ थियो ।

कमलामाई नगरपालिकाले सहकारी संस्थाहरूले गरेका सकारात्मक कार्य, प्रभावकारी व्यवस्थापन र प्रगतिलाई निरन्तर प्रोत्साहन, अनुगमन तथा सम्मान गर्दै आएको जनाएको छ। नगरपालिकाले आगामी दिनमा पनि सहकारी क्षेत्रको विकास र संस्थागत सुधारका लागि यस्ता सिकाइ तथा अनुभव आदान–प्रदान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रतिक्रिया