सिन्धुली,१५ साउन – सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ र कमलामाई नगरपालिका–६ सिन्धुली निवासी रोशन लामाबीच पछिल्लो समय देखिएको विवाद आपसी छलफलपछि समाधान भएको छ । दुवै पक्षबीच भएको समझदारीसँगै आगामी दिनमा सौहार्दपूर्ण सम्बन्ध कायम गर्दै अघि बढ्ने सहमति भएको सिन्धुली उद्योग वाणिज्य संघले जनाएको छ ।
संघका अनुसार २०८३ साल साउन १३ गते भएको घटनाक्रमलाई लिएर उत्पन्न परिस्थितिका सम्बन्धमा शुक्रवार दुवै पक्षबीच प्रत्यक्ष छलफल भएको थियो । छलफलका क्रममा एकअर्काबीच गलत सूचना प्रवाह हुँदा गलत बुझाइ सिर्जना भई विवादको अवस्था आएको निष्कर्ष निकालिएको जनाइएको छ ।
सिन्धुली उद्योग वाणिज्य संघले जारी गरेको जानकारीमा अध्यक्ष श्रेष्ठ र लामा दुवैले विगतको अवस्थालाई समझदारीका साथ समाधान गर्दै आगामी दिनमा आपसी भाइचारा, सहकार्य र सकारात्मक सम्बन्धलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको उल्लेख छ ।
घटनासँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति पनि संघले ध्यानाकर्षण गराएको छ । संघका अनुसार उक्त भिडियो घटनाको एक पक्षबाट मात्र खिचिएको भएकाले भिडियोको आधारमा बजारमा फैलिएका विभिन्न हल्ला तथा धारणा वास्तविकतासँग मेल नखाने बताइएको छ ।
दुवै पक्षबीच समझदारी भइसकेको अवस्थामा कुनै पनि पक्षको प्रतिष्ठा, सामाजिक छवि तथा सम्मानमा आँच पुग्ने गरी आधारहीन समाचार प्रकाशन–प्रसारण नगर्न संघले आग्रह गरेको छ । साथै सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारमाध्यम तथा सर्वसाधारणलाई अपुष्ट सूचना, प्रमाणविहीन आरोप, चरित्रहत्या वा मानहानि हुने किसिमका गतिविधिमा संलग्न नहुन अनुरोध गरिएको छ ।
संघले विवादलाई थप बढाउनेभन्दा पनि सत्य तथ्यमा आधारित सूचना प्रवाह गर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ । गलत बुझाइका कारण उत्पन्न भएको परिस्थितिलाई संवाद र समझदारीमार्फत समाधान गरिएको भन्दै आगामी दिनमा सहकार्य र सकारात्मक वातावरण निर्माणमा जोड दिइएको छ ।
सिन्धुली उद्योग वाणिज्य संघले दुवै पक्षबीच भएको सहमतिले सामाजिक तथा व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ । साथै घटनालाई लिएर फैलिएका भ्रमपूर्ण सूचनाबाट प्रभावित नहुन र आधिकारिक जानकारीलाई मात्र आधार बनाउन सबैलाई आग्रह गरेको छ ।