शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा २० लाखको ग्रिन पार्क बेवारिसे, संरक्षणको पर्खाइमा

शुक्रवार , श्रावण १५, २०८३

सिन्धुली,१५ साउन – कमलामाई नगरपालिका–५ रातमाटा डाँडास्थित कालिका सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको ग्रिन पार्क संरक्षण र व्यवस्थापनको अभावमा अपेक्षित रूपमा सञ्चालन हुन सकेको छैन । करिब २० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त पार्क अहिले नियमित हेरचाह, मर्मतसम्भार र व्यवस्थापनको कमीका कारण क्रमशः आकर्षण गुमाउँदै गएको स्थानीयले बताएका छन् ।

आर्थिक वर्ष २०८२÷८३ मा बागमती प्रदेश सरकारको बजेटबाट डिभिजन वन कार्यालय सिन्धुलीमार्फत कालिका सामुदायिक वन उपभोक्ता समितिले पार्क निर्माण गरेको थियो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको पार्कमा केही भौतिक संरचनामा क्षति पुगेको छ भने नियमित सरसफाइ र फोहोर व्यवस्थापनको अभावले पार्कको सौन्दर्यसमेत प्रभावित भएको छ ।

स्थानीयवासीका अनुसार पार्क निर्माणका क्रममा राज्यले गरेको लगानी सकारात्मक भए पनि त्यसको दीर्घकालीन संरक्षण, सञ्चालन र उपयोगका लागि स्पष्ट योजना नहुँदा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। संरचना निर्माणपछि त्यसको स्वामित्व, व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण हुन नसक्दा पार्क विस्तारै संरक्षणविहीन अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

स्थानीयले पार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके रातमाटा क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताएका छन् । पार्कको प्रवद्र्धनसँगै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने उनीहरूको विश्वास छ । तर स्थानीय सरकारबाट थप पूर्वाधार विकास, प्रचारप्रसार तथा पर्यटकीय गतिविधि विस्तारमा पर्याप्त ध्यान पुग्न नसकेको गुनासो स्थानीयको छ ।

कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अक्कलबहादुर रानामगरले पार्कको संरक्षण, व्यवस्थापन र प्रभावकारी उपयोगका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी योजना अघि बढाइने बताएका छन् । उनले सामुदायिक वन, स्थानीय सरकार र अन्य सरोकारवाला निकायबीच सहकार्य गरी पार्कलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने वातावरण निर्माण गरिने बताए ।

यता, डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख राजकुमार राजभण्डारीले वन क्षेत्रभित्र निर्माण भएका यस्ता संरचनाको संरक्षण र प्रभावकारी उपयोगका लागि कार्यालयले आवश्यक समन्वय र सहजीकरण गर्ने बताएका छन् । उनले वातावरण संरक्षणसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने केन्द्रका रूपमा पार्कलाई विकास गर्न आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बागमती प्रदेश सांसद तथा निवर्तमान मन्त्री गंगानारायण श्रेष्ठले पनि प्रदेश सरकारको लगानीबाट निर्माण भएका संरचनाको संरक्षण र थप विकास आवश्यक रहेको बताएका छन्। उनले स्थानीय सरकार, सामुदायिक वन र सम्बन्धित निकायबीच सहकार्य गरेर रातमाटा ग्रिन पार्कलाई सिन्धुलीको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक सहयोग र समन्वयका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित निकायले व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्दै नियमित सरसफाइ, मर्मतसम्भार, थप पूर्वाधार विकास, स्पष्ट सञ्चालन कार्यविधि र प्रभावकारी प्रचारप्रसारमा ध्यान दिन सके पार्कमा गरिएको सरकारी लगानी सुरक्षित हुने देखिन्छ । व्यवस्थित व्यवस्थापनमार्फत ग्रिन पार्कलाई स्थानीय पर्यटन, रोजगारी र आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।

प्रतिक्रिया