शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मरिणमा खुकुरी प्रहारबाट एक जना घाइते

शुक्रवार , श्रावण १५, २०८३

सिन्धुली,१५ साउन –  सिन्धुलीको मरिण गाउँपालिका–२, धर्मथलीमा बाख्रा धान खेतमा पसेको विषयमा उत्पन्न विवाद खुकुरी प्रहारसम्म पुगेको छ । घटनामा स्थानीय २९ वर्षीय सुरेश थिङ घाइते भएका छन् । खुकुरी प्रहार गरेको आरोप लागेका सोही ठाउँका ३४÷३५ वर्षीय गणबहादुर थिङ भने घटनापछि फरार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले शुक्रवार जनाएको छ ।

प्रदेश प्रहरी विवरणअनुसार बिहिवार साँझ करिब ७ बजे संग्र्राम थिङका छोरा सुरेश र जमानसिंह थिङका छोरा गणबहादुरबीच विवाद भएको थियो । सुरेशको बाख्रा गणबहादुरको धान खेतमा पसेपछि सुरु भएको भनाभन झैझगडामा परिणत भएको र त्यसक्रममा गणबहादुरले सुरेशको बायाँ छातीमा खुकुरी प्रहार गरेको प्रारम्भिक जानकारीमा उल्लेख छ ।

प्रहरीका अनुसार घटनाबारे राति ८ बजेर १५ मिनेटमा प्रहरीलाई खबर प्राप्त भएको थियो । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरीले  घाइते सुरेशलाई उद्धार गरी उपचारका लागि कपिलाकोट स्वास्थ्यचौकी पु¥याइएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि हेटौँडातर्फ पठाइएको र उनको अवस्था मध्यम रहेको जनाइएको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार साउन १५ गते बिहान करिब २ बजे उनी भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत रहेको प्रहरीको भनाई छ ।

प्रहरीले घटनास्थलबाट प्रहारमा प्रयोग भएको भनिएको खुकुरी नियन्त्रणमा लिएको छ । आरोपित गणबहादुरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भनिएका व्यक्ति पक्राउ नपरेकाले घटनाको विस्तृत कारण, घटनाक्रम र थप पक्ष अनुसन्धानपछि खुल्ने बताइएको छ । प्रहरी स्रोतले उपलब्ध गराएको विवरणमा कुटपिट तथा खुकुरी प्रहार गर्ने व्यक्ति फरार रहेको र खोजतलास भइरहेको उल्लेख छ। घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय कपिलाकोटले अघि बढाएको छ ।

प्रहरीले प्राप्त सूचनाका आधारमा घटनास्थल सुरक्षित गरी प्रारम्भिक विवरण सङ्कलन गरेको जनाएको छ । घाइतेको उपचारलाई प्राथमिकता दिँदै फरार व्यक्तिको सम्भावित आवतजावत हुने क्षेत्र तथा आसपासका स्थानमा खोजी तीव्र बनाइएको बताइएको छ । यद्यपि, आरोपित पक्राउ नपरेसम्म घटनाबारे उनको भनाइ प्राप्त हुन सकेको छैन। त्यसैले विवादको सम्पूर्ण पृष्ठभूमि र प्रहारअघिको अवस्था औपचारिक रूपमा पूर्णतः स्पष्ट हुन अझै बाँकी रहेको छ ।

प्रतिक्रिया