सिन्धुली,१५ साउन — सिन्धुलीको दुधौली नगरपालिका–१० रातमाटेमा पोखरीमा डुबेर ९ वर्षीय बालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले शुक्रवार जानकारी दिएको छ । घरबाट हराएका बालकलाई खोजी गर्ने क्रममा पोखरीको किनारमा उनका कपडा र चप्पल भेटिएपछि खोजतलास गर्दा उनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रदेश प्रहरीका अनुसार बिहिवार दिउँसो करिब १ः३० बजेको समयमा दुधौली नगरपालिका–१० रातमाटेका चन्द्रबहादुर लोप्चनका छोरा सरगम लोप्चन तामाङ घरबाट हराएका थिए । बालक नभेटिएपछि आफन्तहरूले खोजी गर्ने क्रममा घरदेखि करिब ७–८ मिटर दक्षिणतर्फ रहेको जंगल क्षेत्रमा रहेको पोखरीको किनारमा उनले लगाएको चप्पल, टि–सर्ट र हाफ पाइन्ट फेला पारेका थिए ।
उक्त घटनाबारे सोही वडाका वडा अध्यक्षले राति ११ः४० बजे टेलिफोनमार्फत प्रहरी चौकी दुधौलीलाई जानकारी गराएका थिए । प्रहरी टोलीले पोखरीमा खोजी गर्दा बालकलाई अचेत अवस्थामा फेला पारेको थियो ।
अचेत अवस्थामा भेटिएका सरगमलाई तत्काल उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएको थियो । अस्पतालमा शुक्रवार बिहान करिब १ः२५ बजे पुर्याइएका बालकलाई उपचारकै क्रममा शुक्रवार बिहान१ः४७ बजे चिकित्सकले मृत घोषणा गरेको गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार मृतक बालकका बुबाको यसअघि नै मृत्यु भइसकेको र आमा अर्को विवाह गरी अन्यत्र बस्दै आएकी छन् । सरगम आफ्ना हजुरबुवासँग आफ्नै घरमा बस्दै आएका थिए ।