शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रकाश मानव अधिकार पुरस्कार सिन्धुलीका खड्कालाई

शुक्रवार , श्रावण १५, २०८३

सिन्धुली, १५ साउन – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रदान गर्दै आएको ‘प्रकाश मानव अधिकार पुरस्कार’ यस वर्षको ३२औँ संसकरण  सिन्धुलीका मानव अधिकारकर्मी रुद्रबहादुर खड्कालाई प्रदान गर्ने निर्णय गरेको छ । कमलामाई नगरपालिका–९, भीमान निवासी खड्काले मानव अधिकार संरक्षण, सामाजिक न्याय प्रवद्र्धन तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा लामो समयदेखि पु¥याउँदै आएको योगदानको मूल्यांकन गर्दै उनलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो ।


इन्सेकका अनुसार खड्काले शोषण, अन्याय, विभेद, दण्डहीनता र सामाजिक बहिष्करणविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन् । विशेषगरी मानव अधिकार उल्लंघनका घटनालाई सार्वजनिक सरोकारको विषय बनाउँदै पीडित तथा सीमान्तकृत समुदायको पक्षमा वकालत गर्ने कार्यमा उनको महत्वपूर्ण भूमिका रहेको इन्सेकले जनाएको छ ।


खड्काले आफ्नो शारीरिक अस्वस्थताका बाबजुद पनि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा सक्रियता निरन्तर कायम राख्दै आएका छन् । पीडित समुदायको अधिकार संरक्षण, न्यायको पहुँच विस्तार र सम्मानजनक जीवनको पक्षमा उनले पु¥याएको योगदानलाई उच्च मूल्यांकन गर्दै पुरस्कारका लागि छनोट गरिएको इन्सेकले उल्लेख गरेको छ ।


इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित तीन सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा खड्कालाई सम्मान गर्ने निर्णय गरिएको हो।  समितिले मानव अधिकार, सामाजिक न्याय र मानवीय मर्यादाको पक्षमा दीर्घकालीन योगदान पु¥याएका व्यक्तित्वमध्येबाट खड्कालाई छनोट गरेको इन्सेकले जनाएको छ ।


इन्सेकले आफ्ना संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालदेखि ‘प्रकाश मानव अधिकार पुरस्कार’ स्थापना गरेको हो । २०५१ साल साउन १६ गते नुवाकोटको घोप्टेभीरमा भएको थाई एयर दुर्घटनामा काफ्लेको नि

धन भएपछि मानव अधिकारको क्षेत्रमा उनले पु¥याएको योगदानको सम्मानस्वरूप यो पुरस्कार प्रदान गर्न थालिएको हो ।
यसअघि वरिष्ठ पत्रकार, समाजसेवी, चिकित्सक, दलित अधिकारकर्मी, महिला अधिकारकर्मी तथा मानव अधिकारकर्मी गरी ३१ जना व्यक्तित्वले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।


इन्सेकका अनुसार सर्वोच्च अदालतकी माननीय वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लको प्रमुख आतिथ्यतामा भोलि शनिबार काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा रुद्रबहादुर खड्कालाई सम्मानपत्रसहित ५० हजार रुपैयाँ नगद राशिको पुरस्कार प्रदान गरिनेछ ।


इन्सेकले खड्कालाई पुरस्कार प्राप्त गरेकोमा बधाई दिँदै शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा उनको योगदान अझ प्रभावकारी बन्दै जाओस् भन्ने शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया