शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा एक वर्षमा ८८ विपदका् घटना, सात जनाको मृत्यु

शुक्रवार , श्रावण १५, २०८३


सिन्धुली,१५ साउन — जिल्लामा गत आ.व.२०८२/०८३को  एक वर्षमा आगलागी, बाढी, पहिरो, हावाहुरी र चट्याङका ८८ घटना भएका छन् । ती घटनामा सात जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । विपद्का कारण ४९ घर र २४ गोठमा क्षति पुगेको तथा ठूलो परिमाणमा आर्थिक नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको वार्षिक प्रगति विवरणले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको गत आथर््िक बर्ष ०८२/०८३को साउनदेखि असारसम्मको वार्षिक विवरणअनुसार जिल्लामा सबैभन्दा धेरै पहिरोका ३२ घटना अभिलेख भएका छन् । त्यसपछि आगलागीका २६, बाढीका १४, चट्याङका ११ र हावाहुरीका पाँच घटना भएका छन् । तथ्यांकले पहिरो र आगलागी जिल्लाका प्रमुख विपद् जोखिमका रूपमा देखिएका छन् । यी दुई प्रकृतिका घटना मात्रै जोड्दा कुल ५८ पुग्छ, जुन वर्षभर अभिलेख भएका विपद्को आधाभन्दा धेरै हो ।

कुल घटनाको अनुपातमा पहिरो करिब ३६ प्रतिशत, आगलागी करिब ३० प्रतिशत, बाढी करिब १६ प्रतिशत, चट्याङ साढे १२ प्रतिशत र हावाहुरी करिब छ प्रतिशत देखिन्छ । यसले विपद्को स्वरूप एकै प्रकारमा सीमित नभई भूगोल, मौसम र मानवीय गतिविधिसँग जोडिएका बहुआयामिक जोखिम जिल्लाभर कायम रहेको देखाउँछ ।

मानवीय क्षतितर्फ सात जनाले ज्यान गुमाएका छन् र १८ जना घाइते भएका छन् । भौतिक क्षतितर्फ ४९ वटा घर र २४ वटा गोठ प्रभावित भएका छन् । प्रहरीको विवरणमा अंकित भएअनुसार विपद्बाट अनुमानित ४ करोड २३ लाख १८ हजार ६०० रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ । यही तथ्यांकले विपद्ले मानव जीवनसँगै निजी आवास, पशुपालनसँग जोडिएका संरचना र घरपरिवारको आर्थिक आधारमा समेत गम्भीर असर पारेको संकेत गर्छ ।

विपद्सम्बन्धी घटनामा जिल्ला प्रहरी कार्यालयअन्तर्गत कुल ५३७ प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख छ । घटनाको संख्या, मानवीय क्षति र परिचालित जनशक्तिको अनुपातले विपद् व्यवस्थापनमा सुरक्षा संयन्त्रको निरन्तर संलग्नता आवश्यक रहेको देखाउँछ । विशेषगरी पहिरो, आगलागी र बाढीका घटना बढी देखिएको तथ्यले जोखिम पहिचान, पूर्वतयारी, शीघ्र सूचना प्रवाह, स्थानीय तहसँग समन्वय र समुदायस्तरको सचेतनालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

वार्षिक विवरणमा समेटिएको तथ्यांक समग्र जिल्लाको हो । यसले विपद्को पालिकागत, महिनागत वा स्थानगत विवरण नदिए पनि सिन्धुलीमा प्राकृतिक तथा गैरप्राकृतिक विपद्को चाप उल्लेख्य रहेको स्पष्ट पार्छ । पहिरोका ३२ घटना सबैभन्दा बढी हुनु भूक्षय र वर्षाजन्य जोखिमप्रति संवेदनशीलता देखाउने सूचक बनेको छ भने २६ आगलागीका घटनाले आगो नियन्त्रण, सुरक्षित भण्डारण र बस्तीस्तरको सावधानीलाई उत्तिकै महत्व दिनुपर्ने देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त विवरण सार्वजनिक गरिएको हो । उपलब्ध तथ्यांकले विपद्पछि उद्धार र परिचालनसँगै क्षति घटाउने पूर्वतयारीलाई स्थानीय सरकार, सुरक्षा निकाय र समुदायको साझा प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको छ । यसका लागि नियमित अभ्यास, उपकरणको उपलब्धता, सुरक्षित बस्ती योजना र समयमै सूचना सम्प्रेषणलाई संस्थागत गर्न जरुरी छ ।

प्रतिक्रिया