सिन्धुली,१४ साउन – गोलन्जोर गाउँपालिकाको उपाध्यक्षले प्रयोग गर्ने सरकारी गाडी पटकपटक दुरुपयोग हुने गरेको पाइएको छ । उक्त गाडी कहिले पार्टीका कार्यकर्ता ओसारपसार गर्न, कहिले नेताहरूलाई आवतजावत गराउन त कहिले पालिकाको कामसँग असम्बन्धित प्रयोजनका लागि लामो दूरीसम्म प्रयोग हुने गरेको स्रोतले जनाएको छ ।
गत साउन १२ गते गाउँपालिका उपाध्यक्षको सरकारी गाडी नेकपा सिन्धुलीका इन्चार्ज तथा पूर्वसांसद राजन दाहाल र कार्यकर्ता अमरदीप थापाको ओसारपसारमा प्रयोग भएको थियो । सो दिन राजन दाहाल उपाध्यक्षको सरकारी गाडी प्रयोग गरी गोलन्जोर गाउँपालिका–१ च्याकुटारमा भेटघाटका लागि पुगेका थिए । गाडीमा राजन दाहाल र अमरदीप थापा सवार थिए भने उपाध्यक्ष स्वयं गाडीमा थिएनन् ।
स्थानीयका अनुसार साउन १२ गते दिनभरि उक्त सरकारी गाडी राजन दाहालको आवतजावतका लागि प्रयोग गरिएको थियो । च्याकुटारबाट फर्किएपछि राजन दाहालसहितको टोली गोलन्जोर गाउँपालिकाको नयाँ प्रशासकीय भवनमा पुगेर अनुगमन तथा भेटघाट गरेको तस्बिरसमेत सार्वजनिक भएको थियो । त्यसपछि भने उपाध्यक्ष पुकार न्यौपाने पनि सोही गाडीमा सवार भई राजन दाहालसँगै सिन्धुलीतर्फ गएको बताइएको छ ।
सरकारी गाडी दुरुपयोग भएको विषयमा उपाध्यक्ष पुकार न्यौपानेसँग जिज्ञासा राख्दा उनले आफ्नो सरकारी गाडी कसैलाई प्रयोग गर्न नदिएको र कुनै प्रकारको दुरुपयोग नभएको दाबी गरेका थिए । न्यौपानेले कार्यालय प्रयोजनको लागि बाहक अन्य कुनैपनि कामको लागि प्रयोग नगर्ने र सिन्धुली पुग्दा अरु साधारण काममा अटोमा हिड्ने बताएका छन् ।
तर त्यसको केही समयपछि उपाध्यक्षले हाम्रो सम्पर्क नम्बर गाडीमा सवार कार्यकर्ता अमरदीप थापालाई उपलब्ध गराएरर उनि मार्फत केरकार गर्ने प्रयास गरिएको थियो । सार्वजनिक सरोकारको विषयमा जिज्ञासा राखेको विषयमा कार्यकर्तामार्फत केरकार गर्न खोजिएको हो भन्ने प्रश्नमा उपाध्यक्ष न्यौपानेले आफूले त्यसो नगरेको र त्यसबारे थप बुझ्ने प्रतिक्रिया दिएका छन् ।
राजन दाहालका लागि पालिकाको गाडी निजी सवारीसरह
सिन्धुलीका ९ स्थानीय तहमध्ये ७ स्थानीय तहमा माओवादीका जनप्रतिनिधि निर्वाचित छन् । सुनकोशी, मरिण, हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा अध्यक्ष तथा गोलान्जोर, घ्याङलेख र तीनपाटन गाउँपालिकामा उपाध्यक्ष माओवादीबाट निर्वाचित भएका छन् ।
स्थानीयवासीका अनुसार आफ्नो पार्टीका जनप्रतिनिधि रहेको स्थानीय तहमा पुग्दा राजन दाहालका लागि सम्बन्धित पालिकाको सरकारी गाडी नै उपलब्ध गराइने गरेको छ । यसरी सरकारी सवारीसाधनलाई निजी कम्पनीको गाडीसरह प्रयोग गरिएको भन्दै स्थानीय स्तरमा आलोचना हुने गरेको छ ।
सरकारी सवारी साधन सञ्चालन कार्यविधि अनुसार सरकारी सवारीसाधन कार्यालयको आधिकारिक कामबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न पाइँदैन ।
स्थानीयका अनुसार गोलान्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालले भने पछिल्लो समय सरकारी गाडी कार्यालय काममा मात्र प्रयोग गर्ने गरेका छन् । उनी सिन्धुली जाँदा सरकारी गाडी घरमै राखेर सरकारी अन्य कामको लागि सार्वजनिक सवारीसाधन वा अन्य सवारीको सहारा लिने गरेको स्थानीयको भनाइ छ ।
तर उपाध्यक्ष न्यौपानेले भने पार्टीका कार्यक्रम, भोजभतेर तथा कार्यालय कामसँग असम्बन्धित अन्य कार्यक्रममा समेत सरकारी गाडी प्रयोग गर्ने गरेको स्थानीयको आरोप छ । मंसिर चारबाट साभार ।