सिन्धुली,१४ साउन – सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य आशीष गजुरेलको उपस्थितिमा सिन्धुली उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम विवादमा परिणत भएको छ । संघले कार्यक्रम समापनका क्रममा अध्यक्ष अर्जुन कुमार श्रेष्ठमाथि अमर्यादित व्यवहार भएको भन्दै दुःख व्यक्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुलीका सचिव एलपी देवकोटाले घटनाको फरक विवरण सार्वजनिक गरेका छन् ।
संघद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा कमलामाई नगरपालिका वडा नम्बर ६ निवासी रोशन लामाले अध्यक्ष श्रेष्ठमाथि २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा पैसा खाएको आरोप लगाएको उल्लेख छ । विज्ञप्तिअनुसार लामाले आफू कमलामाई नगरपालिकाको प्रमुख बनेपछि उद्योग वाणिज्य संघको भवन भत्काउने र बसपार्क क्षेत्रमा रहेका व्यवसायीलाई त्यहाँ बस्न नदिने अभिव्यक्ति दिएका थिए । संघले ती अभिव्यक्तिलाई आधारहीन, प्रमाणविहीन र भ्रामक भनेको छ ।
विज्ञप्तिमा अध्यक्ष श्रेष्ठले प्रमाणबिना आरोप नलगाउन आग्रह गर्दै आफूले त्यस्तो गतिविधि गरेको प्रमाणित भए कानुनी सजाय भोग्न तयार रहेको बताएका छन् । संघले अध्यक्षमाथि भएको व्यवहारप्रति आपत्ति जनाउँदै आगामी दिनमा संस्थाको प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ । विज्ञप्तिमा महासचिव बासु प्रसाद भेटवाल र वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठको हस्ताक्षर छ ।
यसैबीच, रास्वपा सिन्धुलीका सचिव देवकोटाले बिहिवार सामाजिक सञ्जालमा घटनाको विवरण लेख्दै कार्यक्रम दिउँसो एकदेखि तीन बजेसम्म तय भए पनि गजुरेल र आफू डेढ बजे कार्यक्रमस्थल पुगेपछि कार्यक्रम सुरु भएको बताएका छन् । उनका अनुसार कार्यक्रममा करिब साठीदेखि पैँसट्ठी जना सहभागी थिए । अध्यक्ष श्रेष्ठको संक्षिप्त प्रस्तुतिपछि प्रश्नोत्तर खुला गरिएको र पन्ध्रदेखि सोह्र जनाले विभिन्न प्रश्न राखेका थिए । सांसद गजुरेलले ती प्रश्न डायरीमा टिपेर उत्तर दिएको देवकोटाको भनाइ छ ।
देवकोटाका अनुसार कार्यक्रम सकिन पाँचदेखि छ मिनेट बाँकी हुँदा अध्यक्ष श्रेष्ठले आफ्नो समापन मन्तब्यमा लामालाई स्थानीय तहको सम्भावित रास्वपाका उम्मेदवारका रूपमा हिँड्दै संघको हल र बसपार्कको व्यापारिक भवन भत्काउने कुरा गरेको आरोप लगाए । अध्यक्षले आफ्नो भनाइ झुटो भए खुला चौरमा झुन्डिएर मर्न तयार रहेको र आरोप सत्य ठहरिए लामाले पनि सजाय भोग्न तयार हुनुपर्ने बताएका थिए । देवकोटाले अध्यक्षले दुई व्यक्तिको नाम लिए पनि कार्यक्रममा उपस्थित एक महिलाले स्पष्ट पुष्टि नगरेको उल्लेख गरेका छन् ।
त्यसपछि लामाले आफूलाई बिना प्रमाण आरोप लगाइएको भन्दै प्रतिवाद गरेका थिए । उनले यस सम्बन्धमा प्रष्टपार्न आफुले पनि मञ्च पाउनुपर्ने माग गरे ।
कार्यक्रम समापन घोषणा भएपछि लामा आफ्नो पक्ष राख्न मञ्चतर्फ अघि बढ्दा उपस्थितहरूले उनलाई बाहिर लगेका थिए । देवकोटाले अन्तिम समयमा स्वतन्त्र ब्याबसायीक संस्थाको गरिमामय अध्यक्षले कार्यक्रममा यस्तो विषय प्रवेश गराउनु अनुपयुक्त भएको निजी धारणा राख्दै प्रश्न उठेपछि लामाले उत्तर दिन पाउनुपर्ने बताएका छन् ।
घटनाका दुवै विवरण सार्वजनिक भएपछि विवादको वास्तविकता निष्पक्ष छानबिन, उपस्थित व्यक्तिका बयान र उपलब्ध प्रमाणबाट स्पष्ट हुनुपर्ने देखिएको छ । आरोपित विषयलाई पुष्टि नगरी निष्कर्षमा पुग्न नहुने तथा सार्वजनिक संस्थाका कार्यक्रममा मर्यादित संवाद कायम राख्नुपर्ने आवश्यकता पनि यस घटनाले औँल्याएको छ ।