मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

सिन्धुलीमाढीमा ब्रोइलर कुखुराको मासुको मूल्य मनपरी

बिहिवार , श्रावण १४, २०८३


सिन्धुली,१४ साउन — सरकारी निकायको नियमित बजार अनुगमन नहुँदा सिन्धुलीमाढी बजारमा ब्रोइलर कुखुराको तयारी मासुको मूल्य व्यापारीले आफ्नै हिसाबले निर्धारण गर्न थालेका छन् । एउटै बजार क्षेत्रमा, केही पाइलाको दूरीमा रहेका फ्रेस हाउसहरूबीच प्रतिकिलोग्राम ८० रुपैयाँसम्म मूल्य अन्तर देखिएपछि उपभोक्ता अधिकार, मूल्य पारदर्शिता र स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।

कमलामाई नगरपालिका–५, मधुटारमा रहेको धमिजा मिट मार्टले ब्रोइलर कुखुराको तयारी मासु प्रतिकिलोग्राम ३०० रुपैयाँमा बिक्री गरिरहेको छ । सोही पसलबाट केही पाइला टाढा रहेको अर्को फ्रेस हाउसले प्रतिकिलोग्राम ३६० रुपैयाँ लिइरहेको छ भने त्यहाँबाट केही पर रहेको अर्को फ्रेस हाउसमा सोही मासुको मूल्य प्रतिकिलोग्राम ३८० रुपैयाँसम्म पुगेको पाइएको छ ।यो संगै कमलामाई नगरपालिका क्षेत्रका बजारका फ्रेस हाउसले मनपरी मुल्यराखी  मासु बेचिएको पाइएको छ ।

एउटै ठाउँ, एउटै समयमा र एउटै प्रकृतिको मासुको मूल्यमा यति ठूलो अन्तर किन छ भन्ने प्रश्नको स्पष्ट उत्तर उपभोक्ताले पाउन सकेका छैनन् । पसलहरूले मूल्य निर्धारणको आधार सार्वजनिक गरेका छैनन् भने सबै पसलमा उपभोक्ताले सहज रूपमा देख्ने गरी मूल्यसूची राखिएको छ वा छैन भन्ने विषय पनि सरकारी निकायले जाँच गरेको देखिँदैन ।

स्थानीय फ्रेस हाउस सञ्चालकका अनुसार उनीहरूले बिहिवार सम्म किसानसँग जिउँदो ब्रोइलर कुखुरा प्रतिकिलोग्राम २०० रुपैयाँका दरले खरिद गरिरहेका छन् । जिउँदो कुखुरा काट्दा तौल घट्ने, ढुवानी, कामदार, पसल भाडा र अन्य सञ्चालन खर्च थपिने भएकाले तयारी मासुको मूल्य बढी हुने व्यवसायीको तर्क हुन सक्छ । माग र आपूर्तिबीच तालमेल नमिल्दा पसलअनुसार केही मूल्य फरक पर्नु अस्वाभाविक पनि होइन ।

तर किसानबाट खरिद गरिने मूल्य करिब समान हुँदाहुँदै एउटै बजारमा तयारी मासुको बिक्री मूल्य प्रतिकिलोग्राम ३०० देखि ३८० रुपैयाँसम्म पुग्नु सामान्य व्यापारिक अन्तर मात्र हो वा उपभोक्तामाथिको मनपरी,सम्बन्धित निकायले यसको जवाफ दिनुपर्ने देखिएको छ ।

“आपूर्तिको अवस्था फरक हुँदा केही रुपैयाँ तलमाथि हुन सक्छ, तर एकै किलोग्राममा ८० रुपैयाँसम्म अन्तर हुनु नियतवश राखिएको मूल्यजस्तो देखिन्छ,” एक उपभोक्ताले गुनासो गरे ।

स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र उपभोक्ता हित संरक्षणसँग सम्बन्धित निकायले बजार अनुगमन नगर्दा व्यापारीलाई आफूखुसी मूल्य राख्ने वातावरण बनेको उपभोक्ताको आरोप छ । किसानबाट खरिद गरिएको मूल्य, काटछाँटपछिको तौल, ढुवानी खर्च, सञ्चालन लागत र व्यापारीको नाफा कति हो भन्ने विवरण जाँच नगरी मूल्य अन्तरको वास्तविक कारण पत्ता लाग्दैन ।

अब प्रश्न सरकारी निकायतर्फ सोझिएको छ,के सिन्धुलीमाढीका मासु पसलहरूको मूल्यसूची, खरिद बिल र बिक्री मूल्यको अनुगमन हुन्छ ? नियमविपरीत मूल्य असुल गरिएको पाइए कारबाही हुन्छ ? कि अनुगमनको अभावमा उपभोक्ता यसरी नै एउटै वस्तुका लागि पसलपिच्छे फरक मूल्य तिर्न बाध्य भइरहनेछन ?

प्रतिक्रिया