सिन्धुली,१३ साउन – सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपी राजमार्गको पुनर्निर्माण कार्य निर्धारित सम्झौता अवधिभित्रै सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सिन्धुली उद्योग वाणिज्य संघले बुधवार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सभापति गजुरेलले विपी राजमार्ग पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनका अनुसार सरकारले आगामी दुई हजार चौरासी सालको असोज महिनाभित्र राजमार्गको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ। उक्त लक्ष्य हासिल गर्न आवश्यक समन्वय, सहजीकरण र निर्माण कार्यको नियमित अनुगमनमा सरकार गम्भीरतापूर्वक लागिरहेको उनले जानकारी दिए ।
“विपी राजमार्गको पुनर्निर्माण सम्झौतामा उल्लेख गरिएको समयसीमाभित्रै सम्पन्न गराउन सरकार कुनै कसर बाँकी राख्दैन,” सभापति गजुरेलले भने, “निर्माण कार्यलाई तीव्रता दिन तथा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायसँग आवश्यक पहल भइरहेको छ ।”
विपी राजमार्ग सिन्धुली मात्र नभई पूर्वी नेपालका विभिन्न जिल्लालाई संघीय राजधानीसँग जोड्ने महत्वपूर्ण सडक सञ्जाल भएको उल्लेख गर्दै उनले यसको पुनर्निर्माणमा हुने ढिलाइले यातायात, व्यापार, पर्यटन र स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पार्ने बताए । सिन्धुलीसँग प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय महत्त्वको आयोजना भएकाले आफूले पनि निर्माण कार्यलाई विशेष चासोका साथ हेरिरहेको र आवश्यक सहजीकरण गरिरहेको उनको भनाइ थियो ।
अन्तरक्रियामा स्थानीय व्यवसायीहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै सभापति गजुरेलले वर्तमान सरकार निजी क्षेत्रलाई आर्थिक विकासको महत्त्वपूर्ण साझेदारका रूपमा लिएर अघि बढिरहेको बताए । निजी क्षेत्रसँगको सहकार्य विस्तार गर्दै लगानीमैत्री वातावरण निर्माण, व्यावसायिक समस्या समाधान तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने विषयमा सरकार केन्द्रित रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठले जिल्लाका व्यवसायीहरूले भोगिरहेका समस्या, चुनौती तथा सिन्धुलीको विकास र आर्थिक सम्भावनाका क्षेत्रबारे सभापति गजुरेललाई जानकारी गराएका थिए । उनले स्थानीय व्यापार तथा उद्योग क्षेत्रको प्रवद्र्धनका लागि राज्यका निकायबाट नीतिगत र व्यावहारिक सहयोग आवश्यक रहेको धारणा राखे ।
सहभागी व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा देखिएका प्रशासनिक तथा व्यावहारिक कठिनाइ, राज्यले सुधार गर्नुपर्ने क्षेत्र र समाधानका सम्भावित उपायबारे सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले स्थानीय उत्पादन, बजार विस्तार, पूर्वाधार विकास र निजी क्षेत्रको संरक्षणमा सरकारले थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुलीका सभापति अविनास बस्नेत, सचिव एलपी देवकोटा, सिन्धुली उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय व्यवसायी, पत्रकार तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता थियो ।