शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा अटो दुर्घटना, पाँच यात्रु घाइते

मंगलवार , श्रावण १२, २०८३


सिन्धुली,१२ साउन — सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित चपौली जाने भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् । बसेरी नजिक भएको दुर्घटनामा घाइते भएका सबै यात्रुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार आज मंगलवार अपराह्न करिब ४ बजेर १५ मिनेटमा सिन्धुली कलाघर घुमेर महोत्तरीको बर्दिबासतर्फ फर्कदै गरेको मधेश प्रदेश ०४–००१ ह ०४४१ नम्बरको अटो दुर्घटनामा परेको हो । कमलामाई नगरपालिका–३ अन्तर्गत चपौली जाने भित्री सडकमा गुडिरहेको अटो बसेरी नजिक पुगेपछि चालकको नियन्त्रणबाहिर गई सडकमा पल्टिएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

दुर्घटनाग्रस्त अटो धनुषाको मिथिला नगरपालिका–११ का ३९ वर्षीय घनश्याम सापकोटाले चलाएका थिए । अटोमा सवार पाँच जना युवती दुर्घटनामा घाइते भएका हुन् । घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो ।

घाइते हुनेमा महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारा बस्ने २१ वर्षीया अंकिता थापा रहेकी छन् । उनको बायाँ हातमा चोट लागेको छ । सोही स्थानकी २१ वर्षीया अस्मिता पाण्डेको दायाँ हात र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ ।

यस्तै, बर्दिबास नगरपालिका–११ खयरमाराकै २१ वर्षीया दीपा कार्कीको दायाँ खुट्टा र टाउकोमा चोट लागेको छ । बर्दिबास नगरपालिका–६ किसाननगर बस्ने २१ वर्षीया नेहा कार्कीको बायाँ हातमा चोट लागेको छ । त्यसैगरी, बर्दिबास नगरपालिका–४ माइस्थानकी २२ वर्षीया सिम्रन तामाङको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि पठाइएका पाँचै जना घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागे पनि गम्भीर अवस्था नरहेको प्रारम्भिक स्वास्थ्य जानकारी प्राप्त भएको छ ।

दुर्घटनापछि प्रहरीले अटो र त्यसका चालक सापकोटालाई नियन्त्रणमा लिएको छ । अटो चालकको असावधानी, सडकको अवस्था वा अन्य कुनै प्राविधिक कारणले दुर्घटना भएको हो भन्ने विषयमा विस्तृत विवरण सार्वजनिक भएको छैन । प्रहरीले दुर्घटनाको वास्तविक कारणबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

भित्री सडकखण्डमा अटो आफैँ अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक विवरण आए पनि घटनासम्बन्धी थप तथ्य अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया