शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

हेटौंडामा रहस्यमय मृत्यु, ८ जना प्रहरी नियन्त्रणमा

मंगलवार , श्रावण १२, २०८३


हेटौंडा,१२ साउन –  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएको छ । घटनासँग सम्बन्धित आशंकामा प्रहरीले होटल सञ्चालकसहित आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान अघि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त स्थानमा एक पुरुष मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसादको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो । घटनास्थल आसपास रगतका चिह्नसमेत देखिएपछि प्रहरीले घटनालाई संवेदनशील रूपमा लिँदै आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतक थाहा नगरपालिका–१० स्थायी ठेगाना भएका स्वर्गीय रामबहादुर गोपालीका ४१ वर्षीय छोरा आश्मान गोपाली रहेको खुलेको छ । घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि बिहान ८ः३० बजे बागमती प्रदेश प्रहरी कार्यालयको शाखाबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको थियो । प्रहरीले घटनास्थलको अवस्थाबारे थप प्रमाण संकलन तथा अनुसन्धान गरिरहेको जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले घटनासँग सम्बन्धित हुन सक्ने आशंकामा होटल सञ्चालक कमानसिंह माझीसहित आठ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–९ की २२ वर्षीया पार्वती ब्लोन, मनहरी गाउँपालिका–३ की ३४ वर्षीया किराममाया थिङ, ललितपुरको गोदावरी नगरपालिका–७ की ३५ वर्षीया आशिका लामा, उदयपुरको बेलटार नगरपालिका–७ की ३२ वर्षीया मनिषा दाहाल, हेटौंडा उपमहानगरपालिका–१७ का २४ वर्षीय रबिन प्रजा, नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ की २२ वर्षीया बिनिशा तामाङ, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ की ३३ वर्षीया निरु तामाङ र मकवानपुर बकैया गाउँपालिका–५ का ४० वर्षीय होटल सञ्चालक कमानसिंह माझी रहेका छन् । नियन्त्रणमा लिइएकामध्ये छ जना महिला रहेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा तथा मृतकका आफन्तले आश्मान गोपालीको हत्या भएको दाबी गर्दै आएका छन् । यद्यपि प्रहरीले भने घटनाको वास्तविक अवस्था पत्ता लगाउन सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजेश बतौलाका अनुसार घटनासँग सम्बन्धित होटलमा बसेका तथा शंकास्पद देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ भइरहेको छ । उनले अनुसन्धान जारी रहेकाले अहिले नै घटनाको निष्कर्षमा पुग्न नसकिने बताए ।

प्रहरीका अनुसार घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन, प्राप्त प्रमाण र विस्तृत अनुसन्धानपछि मात्र खुल्नेछ । प्रहरीले घटनासँग जोडिएका सबै पक्षको अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने जनाएको छ ।

प्रतिक्रिया