सिन्धुली१२ साउन – सिन्धुली जिल्लामा गत आर्थिक वर्ष २०८२/०८३ मा सवारी दुर्घटनाको संख्या अघिल्ला वर्षको तुलनामा घटे पनि मानवीय क्षति भने उल्लेख्य देखिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको वार्षिक प्रतिवेदनअनुसार एक वर्षको अवधिमा जिल्लाभर १ सय ४६ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी २६ जनाले ज्यान गुमाएका छन् भने ३ सय २३ जना घाइते भएका छन् ।
प्रहरीको अभिलेखमा आएका दुर्घटनाको आधारमा मात्रै यो तथ्यांक तयार गरिएको हो । प्रहरीसम्म सूचना नपुगेका सामान्य दुर्घटना, सवारी चालक वा पक्षबीच घटनास्थलमै मिलाइएका घटना, आफैं उपचार गराएका घाइते तथा चालकले सवारीसहित भागेका घटनाहरू भने तथ्यांकमा समेटिएका छैनन् । त्यसैले वास्तविक दुर्घटनाको संख्या प्रहरी अभिलेखभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएका व्यक्तिमध्ये ३ सय ४९ जनाको उद्धार गरिएको थियो । पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा जिल्लामा सवारी दुर्घटनाको दर क्रमशः घट्दो क्रममा देखिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा सिन्धुलीमा १ सय ७५ वटा सवारी दुर्घटना भएका थिए । उक्त वर्ष दुर्घटनामा परी २५ जनाको मृत्यु भएको थियो भने १ सय ७ जना गम्भीर घाइते र २ सय ८९ जना सामान्य घाइते भएका थिए । त्यसैगरी, आर्थिक वर्ष २०८१/०८२ मा दुर्घटनाको संख्या बढेर २ सय ५ पुगेको थियो । उक्त वर्ष दुर्घटनामा परी ३० जनाले ज्यान गुमाएका थिए भने २ सय ४३ जना गम्भीर र ४ सय ३० जना सामान्य घाइते भएका थिए ।
तर आर्थिक वर्ष २०८२/०८३ मा भने दुर्घटनाको संख्या घटेर १ सय ४६ मा सीमित भएको प्रहरी तथ्यांकले देखाएको छ । यद्यपि सडक दुर्घटनाबाट हुने मानवीय क्षति अझै चुनौतीकै रूपमा रहेको प्रहरीको भनाइ छ ।
प्रहरी विश्लेषणअनुसार सिन्धुलीमा हुने सवारी दुर्घटनाका प्रमुख कारणहरूमा मौसमी प्रभाव, चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउनु तथा साँघुरा र घुमाउरा सडक प्रमुख रहेका छन् । विशेषगरी हुस्सु, कुहिरो र खराब मौसमका कारण सडकमा दृश्यता कम हुँदा दुर्घटनाको जोखिम बढ्ने गरेको प्रहरीको निष्कर्ष छ ।
त्यस्तै, पैदलयात्रीको असावधानी, हतारमा सडक पार गर्ने प्रवृत्ति, क्षमताभन्दा बढी यात्रु राखेर सवारी सञ्चालन गर्नु, पुराना तथा उचित मर्मतसम्भार नभएका सवारी साधन प्रयोग गर्नु र सडकको कमजोर अवस्थाले पनि दुर्घटना बढाउने गरेको प्रहरीको भनाइ छ ।
सडक सुरक्षालाई प्रभावकारी बनाउन प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाहीलाई समेत निरन्तरता दिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९ हजार ९ सय ४१ वटा सवारी साधन कारबाहीमा परेका छन् ।
उक्त कारबाहीबाट प्रहरीले ९९ लाख ४६ हजार ५ सय १६ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । प्रहरीका अनुसार दुर्घटना न्यूनीकरणका लागि चालकको जिम्मेवार व्यवहार, सडक अनुशासनको पालना, सवारी साधनको नियमित मर्मतसम्भार तथा यात्रु र पैदलयात्रीको सचेतना आवश्यक रहेको छ ।