सिन्धुली,११ साउन — सरकारले प्राथमिकताका साथ अघि बढाएको सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जास्थित बिपी पार्क निर्माण बजेट अभावका कारण अधुरै अवस्थामा रोकिएको छ । निर्माण सम्पन्न हुन नसकेका संरचनाको संरक्षण र व्यवस्थापनका लागि उक्त पार्क स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी थालिएको छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मस्थल दुम्जा धरणीडाँडामा सहरी विकास मन्त्रालयमार्फत करिब ६ वर्षअघि पार्क निर्माण सुरु गरिएको थियो । सहरी विकास तथा भवन निर्माण विभागबाट गुरुयोजना स्वीकृत गरी अघि बढाइएको उक्त परियोजनाले विभिन्न आर्थिक वर्षमा पर्याप्त बजेट नपाउँदा अपेक्षित गति लिन नसकेको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका इन्जिनियर सन्तोष यादवका अनुसार पार्कभित्रका मुख्य संरचनाहरू निर्माण भइसकेका छन् । तर गुरुयोजनाअनुसार आवश्यक सबै संरचना निर्माणका लागि बजेट उपलब्ध नभएकाले काम पूर्णता दिन नसकिएको उनले बताए ।
“बिपी पार्कभित्र मुख्य संरचनाहरू निर्माण भएका छन् । तर बाँकी काम सम्पन्न गर्न पर्याप्त बजेट नहुँदा निर्माण अघि बढाउन सकिएको छैन,” इन्जिनियर यादवले भने । उनका अनुसार गत आर्थिक वर्षमा पार्क निर्माणका लागि सरकारले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर जेनजी आन्दोलनपछि उक्त बजेट अन्यत्र खिचिएपछि काम अघि बढ्न सकेन । चालु आर्थिक वर्ष ०८३/०८४को सार्वजनिक बजेटमा समेत बिपी पार्कका लागि कुनै कार्यक्रम तथा बजेट समावेश गरिएको छैन ।
हालसम्म पार्कभित्र बहुउद्देश्यीय सभाहल, बिपी कोइरालाको घर, संग्रहालय भवन, केही कालोपत्र सडक, फुटपाथ तथा सालिक राख्ने स्थान (यार्ड) निर्माण भइसकेका छन् । विभिन्न आर्थिक वर्षमा गरी पार्क निर्माणमा करिब ३ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ ।
गुरुयोजनामा समेटिएका पिकनिक स्थल, पालेघर, घेराबेरा, प्रवेशद्वार, टिकट घर, हेलिप्याड, वृक्षारोपणलगायतका महत्वपूर्ण काम भने अझै बाँकी छन् । पार्क निर्माणका लागि पहल गर्दै आएका स्थानीय समाजसेवी बच्चु कोइरालाले मुख्य प्रवेशद्वार र घेराबारा निर्माण मात्रै भए पनि पार्कले आफ्नो उद्देश्यअनुसार केही आकर्षण सिर्जना गर्न सक्ने बताए ।
सरकारले दुम्जा धरणीडाँडामा रहेका विभिन्न व्यक्तिको ७८ रोपनी जग्गा अधिग्रहण गरी सार्वजनिक जग्गासहित कुल १४६ रोपनी क्षेत्रफलमा पार्क निर्माण गर्ने गुरुयोजना बनाएको थियो । तर हालसम्म क्षेत्र खुला रहेकाले पार्कको संरक्षण र व्यवस्थापनमा समस्या देखिएको छ ।
स्थानीय बासिन्दाका अनुसार बिपीको जन्मस्थल भएकाले दैनिक रूपमा पर्यटक तथा आगन्तुकहरू धरणीडाँडा पुग्ने गरेका छन् । स्थानीय राजनीतिक दल तथा संघसंस्थाले पार्कभित्रका संरचनामा कार्यक्रम आयोजना गर्ने गरेका छन् भने कतिपयले वनभोज स्थलका रूपमा समेत प्रयोग गर्दै आएका छन् । सुनकोशी गाउँपालिकाले पार्कको रेखदेखका लागि एक जना हेरालुको व्यवस्था गरेको छ ।
बच्चु कोइरालाका अनुसार पार्कलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने उद्देश्यले स्थानीयस्तरमा संस्था निर्माण गर्ने सोच भए पनि त्यसले पूर्णता पाउन सकेको छैन। संघीय सरकारले पार्क निर्माणपछि यसको सञ्चालन, व्यवस्थापन र जिम्मेवारी निर्धारण गर्ने स्पष्ट कार्यविधि समेत हालसम्म बनाएको छैन ।
घेराबारा नभए पनि पार्कभित्र निर्माण गरिएको बिपी कोइरालाको पुरानो शैलीको घर अहिले आकर्षणको केन्द्र बनेको छ । स्थानीय कोइराला परिवारको पहलमा पार्कभित्र विभिन्न ऐतिहासिक व्यक्तित्वका सालिकहरू पनि राखिएका छन् । तर ती सालिकहरूको औपचारिक अनावरण भने हुन बाँकी छ ।
पार्कभित्र काजी दामोदर कोइराला, कृष्णप्रसाद कोइराला, बिपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, धरणीधर कोइराला, मोहन कोइराला, ढुण्डीराज कोइराला, तारणीप्रसाद कोइराला र शंकर कोइरालाका सालिक निर्माण गरिएका छन् । तीमध्ये केही पूर्णकद र केही अर्धकदका छन् ।
बागमती प्रदेश सरकारले आर्थिक बर्ष ०८१÷०८२मा बिपी कोइरालाको सालिक निर्माणमा सहयोग गरेको थियो भने सुनकोशी गाउँपालिकाले गत वर्ष ०८२÷०८३मा गिरिजाप्रसाद कोइरालाको सालिक निर्माणका लागि सहयोग गरेको छ । अन्य नौ वटा सालिक भने शिक्षाविद् डा. विद्यानाथ कोइरालालगायतको पहलमा कलाकार तथा सहयोगीहरूबाट जुटाइएको हो । सालिक निर्माणमा सहरी विकास मन्त्रालयको लगानी छैन ।
२०७४ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले नेपालका दुई प्रमुख राजनीतिक व्यक्तित्व बिपी कोइराला र पुष्पलाल श्रेष्ठको जन्मस्थल क्रमशः सिन्धुलीको दुम्जा र रामेछापको भंगेरीमा स्मृति पार्क निर्माण गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर काम अघि बढाएका थिए । तर त्यसपछिका सरकारहरूले पर्याप्त ध्यान नदिँदा दुवै पार्क निर्माणको भविष्य अझै अन्योलमै रहेको छ ।