सिन्धुली, ११ साउन – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२÷८३ मा लागूऔषध नियन्त्रण अभियान अन्तर्गत ६६ वटा मुद्दा दर्ता गर्दै १ सय ७ जनालाई पक्राउ गरेको तथ्यांक सार्वजनिक गरेको छ । बरामद भएको लागूऔषधको परिमाण र मुद्दाको संख्या हेर्दा सिन्धुलीमा लागूऔषधको प्रयोग तथा ओसारपसार चुनौतीपूर्ण बन्दै गएको देखिएको छ ।
प्रहरीका अनुसार उक्त अवधिमा ८११.१४ ग्राम खैरो हिरोइन, ११ किलो ८६२ ग्राम गाँजा, १ हजार ४६२ पिस ट्याबलेट, ९०० एम्पुल तथा ७३ बोतल लागुओैषध(ONEREX) बरामद गरेको छ । पक्राउ परेका विरुद्ध लागूऔषधसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ ।
प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा लागुऔषधसँग सम्बन्धित विभिन्न ४६ वटा मुद्दा दर्ता भएका थिए । यस क्रममा ९३ जना व्यक्तिलाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाइएको थियो ।
जिल्ला प्रहरी कार्यालयले बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा जिल्लाका विभिन्न नाकामा नियमित सवारी जाँच, शंकास्पद गतिविधिमाथि निगरानी र विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
सिन्धुली काठमाडौं–तराई जोड्ने बीपी राजमार्ग मुख्य प्रवेशद्वार भएकाले लागूऔषध ओसारपसार गर्ने समूहको रोजाइमा पर्ने गरेको सुरक्षा अधिकारीहरू बताउँछन्। काठमाडौंबाट तराई तथा तराईबाट काठमाडौंतर्फ हुने आवतजावतका क्रममा लागूऔषध ओसार्ने प्रयास हुने भएकाले प्रहरीले निगरानी र चेकजाँच बढाएको छ ।
एक आर्थिक वर्षमा ६६ वटा मुद्दा दर्ता हुनु भनेको औसतमा प्रत्येक पाँच–छ दिनमा एउटा लागूऔषध मुद्दा दर्ता भएको अवस्था हो। पक्राउ परेका १०७ जनामध्ये अधिकांश युवा उमेर समूहका रहेको प्रहरीले जनाएको छ । यसले लागूऔषधको जोखिम युवामाझ बढी रहेको संकेत गर्छ ।
बरामद भएको ट्रामाडोल, एम्पुल र ओनेरेक्सजस्ता औषधिजन्य लागू पदार्थको मात्रा पनि चिन्ताजनक छ । यस्ता पदार्थ चिकित्सकीय प्रयोजनका लागि प्रयोग हुने भए पनि अवैध रूपमा दुरुपयोग हुँदा लत बस्ने, स्वास्थ्यमा गम्भीर असर पर्ने र अन्य आपराधिक गतिविधिसमेत बढ्ने जोखिम बढ्दो अवस्थामा देखिन्छ ।
लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता सकारात्मक भए पनि पक्राउ मात्र दीर्घकालीन समाधान होइन। स्थानीय तह, विद्यालय, अभिभावक, स्वास्थ्य संस्था र नागरिक समाजको संयुक्त प्रयासबाट युवालाई लागूऔषधबाट टाढा राख्ने अभियान प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
विशेषगरी विद्यालय तथा क्याम्पस तहमा सचेतना कार्यक्रम, औषधिजन्य लागू पदार्थको अवैध बिक्रीमा कडाइ, जोखिममा रहेका युवाको परामर्श तथा पुनःस्थापना कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सरोकारवालाहरू बताउछन ।
आर्थिक वर्ष २०८२/८३ को तथ्यांकले सिन्धुलीमा लागूऔषध नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको देखाए पनि समस्या पूर्ण रूपमा नियन्त्रणमा आइसकेको अवस्था छैन । बीपी राजमार्गको रणनीतिक अवस्थिति, युवामा बढ्दो पहुँच र औषधिजन्य लागू पदार्थको दुरुपयोगलाई ध्यानमा राख्दै नियन्त्रणसँगै रोकथाम, पुनःस्थापना र जनचेतनालाई समान प्राथमिकता दिनुपर्ने देखिन्छ ।