सिन्धुली,१० साउन — सिन्धुली जिल्लामा घरेलु हिंसाका घटना चिन्ताजनक रूपमा देखिएका छन् । आर्थिक वर्ष २०८२÷८३ मा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा घरेलु हिंसासम्बन्धी एक सय सत्र वटा उजुरी दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
प्रहरी कार्यालयमा दर्ता भएका कुल उजुरीमध्ये एक सय दुई वटा उजुरी सम्बन्धित पक्षबीच मिलापत्र गराई टुंग्याइएको छ । आपसी सहमतिबाट समाधान हुन नसकेका बाँकी पन्ध्र वटा उजुरी आवश्यक कानुनी कारबाहीका लागि अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकमा उल्लेख छ ।
जिल्लाका नौ स्थानीय तहमध्ये कमलामाई नगरपालिकाबाट घरेलु हिंसाका सबैभन्दा धेरै उजुरी परेका छन् । कमलामाईबाट मात्रै बहत्तर वटा उजुरी दर्ता भएका छन् । यो संख्या जिल्लाभर दर्ता भएका कुल उजुरीको आधाभन्दा बढी हो ।
कमलामाईपछि दुधौली नगरपालिकाबाट सत्र वटा घरेलु हिंसाका उजुरी परेका छन् । त्यसैगरी, मरिण गाउँपालिकाबाट दस वटा तथा तीनपाटन गाउँपालिका र गोलन्जोर गाउँपालिकाबाट समान छ–छ वटा उजुरी दर्ता भएका छन् । हरिहरपुरगढी गाउँपालिकाबाट तीन वटा उजुरी प्रहरी कार्यालयमा पुगेका छन् ।
सुनकोशी गाउँपालिका र घ्याङ्लेख गाउँपालिकाबाट घरेलु हिंसाका सबैभन्दा कम उजुरी परेका छन् । यी दुवै गाउँपालिकाबाट एक–एक वटा उजुरी मात्रै दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ । त्यस्तै, अन्य क्षेत्रबाट पनि एउटा उजुरी परेको छ ।
घरेलु हिंसाका उजुरीको संख्या स्थानीय तहअनुसार असमान देखिए पनि कम उजुरी पर्नुलाई हिंसाका घटना नै नभएको निष्कर्षका रूपमा लिन नसकिने देखिन्छ । हिंसाबारे उजुरी गर्ने चेतना, प्रहरी तथा न्यायिक निकायसम्मको पहुँच र सामाजिक दबाबजस्ता पक्षले समेत उजुरीको संख्यामा प्रभाव पार्न सक्छन् ।
चेतनाको कमी, गरिबी, अशिक्षा र बेरोजगारीलगायतका सामाजिक तथा आर्थिक कारण घरेलु हिंसाका प्रमुख कारकका रूपमा देखिएका छन् । यस्ता घटना न्यूनीकरणका लागि कानुनी सचेतना, पीडितमैत्री उजुरी प्रणाली, पारिवारिक परामर्श तथा समुदायस्तरमा प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।