शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा हुलाकमार्फत १८२ नागरिकले घरमै पाए राहदानी

आइतवार , श्रावण १०, २०८३


सिन्धुली,१० साउन — राहदानी लिन जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने बाध्यता कम गर्न सिन्धुलीमा सुरु गरिएको हुलाकमार्फत घरमै राहदानी वितरण सेवा प्रभावकारी बन्दै गएको छ । सेवा सञ्चालनमा आएको करिब दुई महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानीय तहका १८२ सेवाग्राहीले आफ्नै घरआँगनमा राहदानी प्राप्त गरेका छन् ।

सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत सेवाग्राहीलाई सहज, सरल र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले घरमै राहदानी पु¥याउने व्यवस्था सुरु गरिएको हो । उक्त सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला हुलाक कार्यालयबीच २०८३ साल वैशाख २९ गते औपचारिक सम्झौता भएको थियो ।

सम्झौतापछि गत आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका १८२ नागरिकलाई हुलाक सेवामार्फत राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । कार्यालयका डाक शाखा प्रमुख बेदराज काफ्लेका अनुसार हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्ने पहिलो सेवाग्राही गोलञ्जोर गाउँपालिका–७, खुर्कोट निवासी बबिता माझी हुन । उनले जेठ ११ गते आफ्नै घरमा राहदानी बुझेकी थिइन ।

घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक दर्ता राजस्वबापत ५५ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ । राहदानीसहितको हुलाक सामग्रीको तौल ५० ग्रामभन्दा बढी भएमा प्रचलित नियमअनुसार थप शुल्क लाग्ने डाक शाखा प्रमुख काफ्लेले जानकारी दिए ।

जिल्ला हुलाक कार्यालयको तथ्यांकअनुसार यो सेवा लिनेमा दुधौली नगरपालिकाका नागरिकको संख्या सबैभन्दा बढी छ । दुधौली नगरपालिकाका ८६ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । त्यसैगरी जिल्ला हुलाक कार्यालयबाट सात जना, कमलामाई नगरपालिकाका नौ जना, तीनपाटन गाउँपालिकाका १४ जना, गोलञ्जोर गाउँपालिकाका पाँच जना र फिक्कल गाउँपालिकाका चार जनाले सेवा लिएका छन् ।

यस्तै, सुनकोशी गाउँपालिकाका १३ जना, घ्याङलेख गाउँपालिकाका आठ जना, मरिण गाउँपालिकाका १८ जना र हरिहरपुरगढी गाउँपालिकाका १८ जनाले पनि हुलाकमार्फत घरमै राहदानी प्राप्त गरेका छन् ।

राहदानी वितरण प्रक्रियालाई थप व्यवस्थित र सहज बनाउन जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा जिल्ला हुलाक कार्यालयका एक कर्मचारीलाई नियमित रूपमा खटाइएको छ । राहदानी सेवाग्राहीको घरसम्म सुरक्षित रूपमा पु¥याउने कार्य सञ्चालन गर्न प्रशासन कार्यालयमा छुट्टै कार्यकक्षसमेत स्थापना गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा सिन्धुली जिल्लाबाट पाँच हजार नयाँ राहदानी जारी भएका छन् । सोही अवधिमा बालबालिकाका २८ वटा द्रुत राहदानी बनाउन सम्बन्धित निकायमा सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो। घरमै राहदानी पु¥याउने सेवाले सेवाग्राहीको समय, यात्रा र प्रशासनिक झन्झट घटाउँदै सरकारी सेवालाई नागरिकको घरदैलोसम्म विस्तार गरेको छ । स्रोत : ई सिन्धुली

प्रतिक्रिया