काठमाडौँ,०९ साउन — काठमाडौँको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरेर राखिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ । घटनापछि प्रहरीले घटनाको प्रकृति र मृत्युको कारणबारे अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार मृत अवस्थामा फेला परेकी महिला तारकेश्वर नगरपालिका–९, शुभकामना चोक निवासी ४५ वर्षीया रश्मी रिजाल हुन् । रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’को जिम्मेवारीमा कार्यरत रहेको बताइएको छ ।
पारिवारिक स्रोतका अनुसार रिजाल साउन ८ गते बिहान करिब ७ बजेदेखि परिवारको सम्पर्कमा आएकी थिइनन् । त्यसपछि उनको खोजी भइरहेको अवस्थामा शनिबार दिउँसो तारकेश्वर क्षेत्रको एक पार्किङस्थलमा रहेको विद्युतीय कारभित्र उनको शव फेला परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार शनिबार दिउँसो करिब १ बजे BAE ०४१० नम्बरको विद्युतीय कारको पछाडिको सिटमा जलेको अवस्थामा रिजालको शव भेटिएको हो । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ । कारभित्रै डढेको अवस्थामा शव भेटिएकाले घटनाको वास्तविक कारण र परिस्थितिबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । पोस्टमार्टम रिपोर्ट, घटनास्थलको अवस्थालगायतका आधारमा मृत्युको कारण खुल्ने अपेक्षा गरिएको छ ।
प्रहरी उपरीक्षक भट्टराईले घटनाको विस्तृत विवरण र मृत्युको कारण पत्ता लगाउन गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिएका छन् । घटनासँग सम्बन्धित थप तथ्यहरू अनुसन्धानको क्रममा खुल्दै जाने प्रहरीले जनाएको छ ।
ा