शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मरिण मासु प्रशोधन उद्योगले सार्वजनिक डगर(बाटो) बन्द गर्‍यो

शनिवार , श्रावण ९, २०८३


सिन्धुली,०९ साउन — मरिण गाउँपालिका–४ चारघरेस्थित सार्वजनिक बाटो (डगर) मासु प्रशोधन कम्पनीका कारण अवरुद्ध भएपछि स्थानीयवासीले उक्त बाटो तत्काल खुलाइदिन माग गरेका छन् । स्थानीयको दैनिक आवतजावत, पशुचौपाया चराउन तथा खेतीपातीमा समेत समस्या परेको भन्दै बाटो सञ्चालनका लागि गाउँपालिका कार्यालयमा निवेदन पेश गरिएको छ ।

मरिण गाउँपालिका–४ साहान चारघरेस्थित सार्वजनिक डगर हाल निर्माणाधीन मासु प्रशोधन कम्पनीले अवरोध गरी बन्द गरेको स्थानीयको भनाइ छ । बाटो बन्द भएपछि स्थानीय बासिन्दालाई चौपाया (गाई, भैंसी, बाख्रा, पाडा) चराउन लैजानदेखि कृषि कार्यका लागि आवतजावत गर्नसमेत कठिनाइ भएको निवेदनमा उल्लेख गरिएको छ ।

स्थानीयवासी विष्णु प्रसाद ढुंगेलले मरिण गाउँपालिकाका अध्यक्षसमक्ष पेश गरेको निवेदनमा उक्त बाटो तत्काल खुला गराइदिन माग गरिएको छ । निवेदनमा भनिएको छ, “मासु प्रशोधन कम्पनीद्वारा अवरोध गरी चौपाया तथा मानिस आवतजावत गर्न नसक्ने अवस्था रहेको हुँदा उक्त बाटो खुला गराइदिन वडा कार्यालयको सिफारिससहित यो निवेदन पेश गर्दछु ।”

यस विषयमा मरिण गाउँपालिका–४ वडा कार्यालयले पनि गाउँपालिकालाई औपचारिक रूपमा बाटो खुला गरिदिन सिफारिस गरेको छ । वडा कार्यालयको पत्रमा चारघरे बाटो (डगर) निर्माणाधीन मासु प्रशोधन कम्पनीले निर्माण कार्यका क्रममा बन्द गरेको उल्लेख गर्दै स्थानीय किसानहरूको समस्या समाधानका लागि बाटो सहज बनाउन अनुरोध गरिएको छ ।

वडा कार्यालयका अनुसार उक्त बाटो बन्द हुँदा स्थानीय किसानहरूलाई चौपाया चराउन, घाँस, दाउरा तथा कृषि सामग्री ओसारपसार गर्न समस्या भएको छ । साथै स्थानीय खेतीपाती गर्ने नागरिकको नियमित आवतजावतसमेत प्रभावित भएको भन्दै बाटो खुला गर्न आवश्यक पहल गर्न गाउँपालिकासमक्ष आग्रह गरिएको हो ।
वडा कार्यालयको पत्रमा चारघरे बाटो खुलाइदिन माग गर्ने स्थानीय बासिन्दाहरूमा अर्जुन महतरा, मदन केसी, विष्णु प्रसाद ढुंगेल, तीर्थ प्रसाद ढुंगेल, श्याम कार्की, कृष्ण माया कार्की, सोनामसिं स्याङ्तान, कर्म बहादुर स्याङ्तान, अमिर थापा, गणराज प्रसाद, प्रेम प्रसाद र चतुरसिं ठोकरेललगायतको संयुक्त निवेदन रहेको उल्लेख छ ।

मरिण गाउँपालिका–४ का वडा अध्यक्ष जित बहादुर क्यापछाकीले हस्ताक्षर गरेको पत्रमा पनि स्थानीयको मागअनुसार चारघरे बाटो (डगर) खुलाइदिन गाउँपालिकासँग सिफारिस गरिएको छ ।

स्थानीयले सार्वजनिक प्रयोगमा रहेको बाटो कुनै पनि कारणले लामो समय अवरुद्ध हुन नहुने भन्दै सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने बताएका छन् । गाउँपालिकाले स्थानीयको माग, सार्वजनिक बाटोको अवस्था र निर्माणाधीन उद्योगसँग सम्बन्धित विषय अध्ययन गरी आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ ।

 

2.jpg
undefined
1.jpg
undefined

प्रतिक्रिया