शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

छ वर्षपछि तीव्र बन्दै सिन्धुली सदरमुकामको रिङरोड निर्माण

शनिवार , श्रावण ९, २०८३


सिन्धुली,०९ साउन – सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा निर्माणाधीन रिङरोडको काम लामो समयको सुस्ततापछि पछिल्लो समय तीव्र गतिमा अघि बढ्न थालेको छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अपेक्षित प्रगति हुन नसकेको आयोजनामा अहिले निर्माण कम्पनीले जनशक्ति थप गरी दुईतर्फबाट काम अघि बढाएको छ ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको ८ दशमलव ३ किलोमिटर लामो रिङरोडको भौतिक प्रगति हाल करिब ४० प्रतिशत पुगेको डिभिजन सडक कार्यालय खाल्टे, सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार विगतका वर्षमा निकै सुस्त रहेको निर्माण कार्य अहिले भने तीव्र रूपमा भइरहेको छ ।

डिभिजन सडक कार्यालयका इन्जिनियर गजेन्द्र राउतका अनुसार निर्माण कम्पनीले पछिल्लो समय कामलाई गति दिएको छ । “वर्षाको समयबाहेक छ–सात महिनाभित्र बाँकी काम पूरा गर्ने लक्ष्यसहित अहिले जनशक्ति बढाएर दुईतर्फबाट काम भइरहेको छ । यसरी पहिले नै काम भएको भए आयोजना यसअघि नै सम्पन्न भइसक्थ्यो,” उनले भने ।

सदरमुकामको माझिटार–पानीट्याङकी–नुनथला–मल्लागाउँ हुँदै हिरापानीसम्म पुग्ने उक्त रिङरोड निर्माणका लागि २०७६ साल फागुन ११ गते कालिका–बेदान्सी–विकास जेभीसँग सम्झौता भएको थियो । करिब १८ करोड रुपैयाँ लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो ।

तर सम्झौता अवधिभित्र काम सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीलाई दुई पटकसम्म म्याद थप गरिएको थियो । पछिल्लो म्याद २०८३ वैशाख ११ गते सकिएको इन्जिनियर राउतले जानकारी दिए । उनका अनुसार नयाँ सार्वजनिक खरिद ऐन संशोधनपछि निर्माण कम्पनीले म्याद थपका लागि ३० दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । निवेदन आएपछि आवश्यक अध्ययन गरी थप समय निर्धारण गरिने उनले बताए ।

निर्माण कार्यमा भएको ढिलासुस्तीका कारण कार्यालयले निर्माण कम्पनीको कार्यसम्पादन जमानतबापत राखिएको एक करोड ६५ लाख रुपैयाँको बैंक ग्यारेन्टीसमेत जफत गरिसकेको छ । पटकपटक लिखित तथा मौखिक रूपमा ताकेता गर्दा पनि सम्झौताअनुसार काम नभएपछि गत पुस ६ गते ठेक्का तोड्ने चेतावनीसहित सूचना जारी गरिएको कार्यालयले जनाएको छ ।

प्राविधिक अनुमानअनुसार रिङरोड निर्माणको प्रारम्भिक लागत करिब ४५ करोड रुपैयाँ रहेको थियो । तर कालिका–बेदान्सी–विकास जेभीले करिब १८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण जिम्मा लिएको हो । दुई लेनमा निर्माण हुने सडकको चौडाइ साढे सात मिटर रहनेछ भने कालोपत्रेको भाग साढे पाँच मिटरको हुने कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीका इन्जिनियर बुलन यादवका अनुसार अहिले विभिन्न स्थानमा नाला तथा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ । “नाला र रिटेनिङ वालको काम अब धेरै बाँकी छैन । सकेसम्म छिटो सम्पन्न गर्ने गरी दुवै दिशाबाट काम भइरहेको छ,” उनले भने । उनका अनुसार भौतिक प्रगति ४० प्रतिशतभन्दा बढी पुगेको छ भने आर्थिक प्रगति २४ प्रतिशत रहेको छ ।

निर्माण कार्यले गति लिन थालेपछि स्थानीयवासीमा आयोजना पूरा हुने आशा बढेको छ । माझिटार–चकमके सडकअन्तर्गत माझिटारबाट सुरु हुने यो रिङरोड हिरापानीमा पुगेर बीपी राजमार्गसँग जोडिनेछ । यसले कमलामाई नगरपालिका–४, ६ र ७ नम्बर वडाका भित्री बस्तीलाई समेट्ने स्थानीयको भनाइ छ ।

तर रिङरोड निर्माण क्षेत्रमा अझै केही स्थानमा जग्गा विवाद कायम रहेकाले त्यसको समाधान आवश्यक रहेको स्थानीय बलराम अधिकारीले बताए । उनले कमलामाई नगरपालिकाले जग्गा विवाद समाधान गरी निर्माण कार्यलाई सहज बनाउनुपर्ने धारणा राखे । स्रोत : गोरखापत्र दैनिक 

प्रतिक्रिया