सिन्धुली,०९ साउन — सिन्धुलीको दुधौली नगरपालिकामा सडक पार गरिरहेकी चार वर्षीया बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी छन् । दुधौली नगरपालिका–११ स्थित राजावासको झुङ्गा भित्री सडकखण्डमा शुक्रबार बिहान भएको दुर्घटनामा स्थानीय लक्ष्मी अछामी मगर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले शनिवार जानकारी दिएको छ ।
प्रदेश प्रहरीका अनुसार शुक्रवार बिहान करिब ८ बजेर ५० मिनेटमा धनसरीबाट दुधौलीतर्फ आउँदै गरेको ज ७ प ८०४२ नम्बरको मोटरसाइकलले सडक पार गरिरहेकी बालिकालाई ठक्कर दिएको थियो । मोटरसाइकल दुधौली नगरपालिका–११ निवासी ४५ वर्षीय चक्रदेव खडकाले चलाएका थिए ।
दुर्घटनामा घाइते भएकी बालिका स्थानीय रोमबहादुर अछामी मगरकी चार वर्षीया छोरी लक्ष्मी अछामी मगर रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट उनको दुवै हात र दुवै खुट्टामा चोट लागेको छ । दुर्घटनालगत्तै स्थानीय बासिन्दा तथा परिवारका सदस्यले बालिकालाई उपचारका लागि दुधौली नगरपालिका–९ स्थित जनआस्था सामुदायिक पोलिक्लिनिक पु¥याएका थिए ।
पोलिक्लिनिकमा प्रारम्भिक उपचार गरिएपछि चिकित्सकको सल्लाहअनुसार उनलाई थप उपचारका लागि महोत्तरीको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल पठाइएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै प्रहरीले बालिकाको स्वास्थ्य अवस्था मध्यम रहेको जानकारी दिएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक चक्रदेव खड्कालाई नियन्त्रणमा लिइएको प्रहरी चौकी दुधौलीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र दुर्घटनाको वास्तविक कारण तथा चालकको सम्भावित लापरवाहीका विषयमा आवश्यक सोधपुछ गरिने प्रहरीले जनाएको छ ।
भित्री सडकमा सवारीसाधनको गति, बालबालिकाको आवतजावत तथा सडक सुरक्षासम्बन्धी सावधानीको अभावले दुर्घटनाको जोखिम बढाउने गरेको छ । प्रहरीले चालकहरूलाई बस्ती तथा बालबालिकाको आवतजावत हुने क्षेत्रमा नियन्त्रित गतिमा सवारी चलाउन र अभिभावकलाई समेत साना बालबालिकालाई सडकमा एक्लै नछाड्न आग्रह गरेको छ ।