शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

डिभिजन वन कार्यालय मरिणद्वारा ६ करोड बढि राजश्व संकलन

वन व्यवस्थापन, राजस्व संकलन र दिगो वन व्यवस्थापनमा उल्लेख्य प्रगति

बिहिवार , श्रावण ७, २०८३


सिन्धुली,०७ साउन – डिभिजन वन कार्यालय, मरिणले आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयका अनुसार वन व्यवस्थापन, राजस्व संकलन, काठ तथा दाउरा उत्पादन–बिक्री, बिरुवा वितरण, वन मुद्दा व्यवस्थापन तथा दिगो वन व्यवस्थापनका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको छ ।

कार्यालयले हालसम्म वन क्षेत्रबाट कुल ६ करोड ५८ लाख १७ हजार २५२ रुपैयाँ ८८ पैसा राजस्व संकलन गरेको जनाएको छ । यसमध्ये सामुदायिक वनबाट ६ करोड ४२ लाख ६५ हजार ४७२ रुपैयाँ तथा निजी वन÷निजी आवादीबाट करिब १५ लाख ५१ हजार ७८० रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै, काठ उत्पादनतर्फ सामुदायिक वनबाट २ लाख ९९ हजार १७४.१९ क्यूफिट काठ उत्पादन भएको छ भने निजी वनबाट २६ हजार ९०१.०४ क्यूफिट काठ उत्पादन भएको कार्यालयले जनाएको छ ।

उत्पादन भएको काठ मध्ये गत आर्थिक बर्षमा सामुदायिक बनको २ लाख ४८ हजार ५८० क्युफिट र निजि आवादीबाट २६ हजार ९०१ क्यूफिट गरि कुल २ लाख ७५ हजार ४८१ क्यूफिट काठ बिक्रि भएको कार्यालयले जनाएको छ । 

वन संरक्षण तथा वृक्षारोपण कार्यक्रमअन्तर्गत हालसम्म ५० हजार ३४१ वटा बिरुवा वितरण गरिएको छ । वितरण गरिएका बिरुवामा तेजपात, अमला, सिसौ, टाँकी, गुलमोहर, बिरुल, चुरा, कनारी, कल्की, बाँस र खयर लगायतका प्रजाति रहेका छन् ।

कार्यालयका अनुसार हालसम्म वनसम्बन्धी ३ वटा, फँडानीसम्बन्धी ३ वटा मुद्दा दर्ता भएका छन् भने वन्यजन्तुसम्बन्धी कुनै मुद्दा दर्ता भएको छैन ।  त्यस्तै वन क्षेत्रबाट ८६ हजार ४६० मानव–दिन बराबरको रोजगारी सिर्जना भएको प्रगतिमा उल्लेख गरिएको छ ।

कार्य योजना नवीकरणतर्फ गत आर्थिक वर्षमा ३७ वटा सामुदायिक वन तथा २५ वटा कबुलियती वन को कार्ययोजना नवीकरण गरिएको छ । 

यसैगरी, दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत ६ वटा सामुदायिक वन मा व्यवस्थापन लागू भई १ हजार २८४.५८ हेक्टर क्षेत्र समेटिएको छ । समग्रमा दिगो वन व्यवस्थापन लागू भएका सामुदायिक वनको संख्या ५८ पुगेको छ भने कुल क्षेत्रफल २४ हजार ४०१.६३ हेक्टर पुगेको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय मरिणले वन स्रोतको दिगो उपयोग, संरक्षण तथा स्थानीय समुदायको आयआर्जन र रोजगारी वृद्धि गर्ने लक्ष्यअनुसार कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाईरहेको डिभिजनल बन अधिकृत कृष्ण प्रसाद न्यौपानेले बताए ।

प्रतिक्रिया