सिन्धुली, ०७ साउन — सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ स्थित कुशुमटारमा रहेको गुप्तेश्वर महादेव मन्दिरको योजनाबद्ध प्रचार–प्रसार तथा आवश्यक भौतिक पूर्वाधार विकास गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन् । धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमका रूपमा रहेको मन्दिरमा धार्मिक पर्यटनको उल्लेखनीय सम्भावना भए पनि पर्याप्त प्रचार र पूर्वाधारको अभावमा अपेक्षित संख्यामा पर्यटक तथा तीर्थयात्री पुग्न नसकेको उनीहरूको भनाइ छ ।
स्थानीयवासीका अनुसार गुप्तेश्वर महादेव मन्दिर सिन्धुली जिल्लाकै महत्वपूर्ण धार्मिक तथा प्राकृतिक सम्पदामध्ये एक हो । मन्दिरप्रति स्थानीय समुदायको गहिरो धार्मिक आस्था रहे पनि यसको ऐतिहासिक, धार्मिक र प्राकृतिक महत्वबारे बाहिरी क्षेत्रका नागरिकसम्म पर्याप्त जानकारी पुग्न सकेको छैन । मन्दिरको व्यवस्थित रूपमा प्रचार गर्न सकिए आन्तरिक धार्मिक पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीय पर्यटन प्रवद्र्धनमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।
विशेष गरी साउन महिनाका प्रत्येक सोमबार मन्दिरमा पूजा–आराधना गर्न आउने भक्तजनको उल्लेखनीय उपस्थिति रहने गरेको छ । हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको आराधनाका लागि विशेष महत्व दिने महाशिवरात्रिका अवसरमा पनि मन्दिर परिसरमा भक्तजनको भीड लाग्ने गरेको स्थानीयवासीले बताएका छन् । यस्ता विशेष धार्मिक अवसरमा मन्दिरको दर्शन, पूजापाठ तथा धार्मिक अनुष्ठानका लागि विभिन्न स्थानबाट श्रद्धालु आउने गरे पनि उनीहरूका लागि आवश्यक आधारभूत सुविधा पर्याप्त नभएको जनाइएको छ ।
गुप्तेश्वर महादेव मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रसमेत भएकाले यसलाई एकीकृत धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयवासीको धारणा छ । मन्दिर वरपरको प्राकृतिक वातावरण, शान्त परिवेश र धार्मिक महत्वलाई योजनाबद्ध रूपमा प्रवद्र्धन गर्न सकिए कुशुमटार क्षेत्रको पहिचान फराकिलो बन्ने र पर्यटकको आवागमन बढ्ने उनीहरूले अपेक्षा गरेका छन् ।
स्थानीयवासीले मन्दिरसम्म पुग्ने पहुँच, भक्तजनको सहज आवागमन, सुरक्षा, सरसफाइ तथा धार्मिक गतिविधि सञ्चालनका लागि आवश्यक संरचनाको विकासमा सम्बन्धित सरकारी निकायले प्राथमिकता दिनुपर्ने बताएका छन् । मन्दिरको प्रचारका लागि स्थानीय तह, पर्यटनसम्बन्धी निकाय तथा समुदायबीच समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ । सञ्चारमाध्यम, सूचना सामग्री र स्थानीय पर्यटन प्रवद्र्धनका कार्यक्रममार्फत मन्दिरको महत्त्व सार्वजनिक गर्न सके धार्मिक पर्यटक आकर्षित गर्न सहज हुने उनीहरूले उल्लेख गरेका छन् ।
सरकारी निकाय र कुशुमटार सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा मन्दिर क्षेत्रमा केही भौतिक पूर्वाधार निर्माण तथा तटबन्धनको काम सम्पन्न भइसकेको छ । यसबाट मन्दिर क्षेत्रको संरक्षण र व्यवस्थापनमा केही सहयोग पुगे पनि हालसम्म निर्माण भएका संरचना मात्र पर्याप्त नभएको स्थानीयवासीले बताएका छन् । मन्दिरको दीर्घकालीन संरक्षण, भक्तजनको सुविधा र पर्यटन विकासका लागि थप भौतिक पूर्वाधार निर्माण आवश्यक रहेको जनाइएको छ ।
मन्दिरको धार्मिक महत्व, प्राकृतिक विशेषता र स्थानीय समुदायको अपेक्षालाई ध्यानमा राखेर दीर्घकालीन योजना निर्माण गर्नुपर्ने मागसमेत स्थानीयस्तरबाट उठेको छ। योजनाबद्ध प्रचार–प्रसार, आवश्यक पूर्वाधार निर्माण र नियमित संरक्षणको व्यवस्था भए गुप्तेश्वर महादेव मन्दिर सिन्धुलीको आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने स्थानीयवासीको विश्वास छ ।