सिन्धुली,०६ साउन — सिन्धुली जिल्लामा पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले सवारी दुर्घटनाको दर क्रमशः घट्दै गएको देखाए पनि मदन भण्डारी राजमार्गमा भने दुर्घटनाको जोखिम बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार जिल्लाका प्रमुख राजमार्ग तथा भित्री सडकमा हुने दुर्घटनाको संख्या घटे पनि सडक विस्तार र सवारी चापसँगै केही क्षेत्रमा सुरक्षा चुनौती थपिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷०८३ को विवरणअनुसार बीपी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा जिल्लाभित्रका अन्य सडकमा गरी कुल १४६ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा २६ जनाले ज्यान गुमाएका छन् भने ७६ जना गम्भीर घाइते भएका छन् । यस्तै, २७० जना सामान्य घाइते भएका छन् भने दुर्घटनाका कारण दुई वटा पशुचौपायाको समेत मृत्यु भएको कार्यालयले जनाएको छ ।
तीन आर्थिक वर्षको तुलनात्मक विवरण हेर्दा दुर्घटना न्यूनीकरणतर्फ सुधार देखिएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लामा १७५ वटा सवारी दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो । उक्त वर्ष १०७ जना गम्भीर र २८९ जना सामान्य घाइते भएका थिए । त्यसैगरी आर्थिक वर्ष २०८१÷०८२ मा दुर्घटनाको संख्या बढेर २०५ पुगेको थियो । सो अवधिमा ३० जनाको मृत्यु, २४३ जना गम्भीर घाइते र ४३० जना सामान्य घाइते भएका थिए । तर आर्थिक वर्ष २०८२÷०८३ मा दुर्घटना घटेर १४६ मा सीमित भएको छ भने गम्भीर घाइतेको संख्या ७६ र सामान्य घाइतेको संख्या २७० मा झरेको छ ।
गत आर्थिक वर्षको मासिक विवरणअनुसार असोज महिनामा सबैभन्दा धेरै २० वटा दुर्घटना भएका थिए । त्यसपछि पुस र असारमा १६–१६, भदौमा १५, फागुनमा १४, कात्तिकमा १३, वैशाखमा १२, साउन र मंसिरमा १०–१०, जेठमा आठ तथा माघ र चैतमा छ–छ वटा दुर्घटना भएको ट्राफिक कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका ट्राफिक प्रहरी निरीक्षक बालकृष्ण प्रधानका अनुसार सडक सुरक्षा सचेतना, नियमित अनुगमन र नियम उल्लङ्घन गर्ने चालकविरुद्ध गरिएको कडाइका कारण दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव परेको हो । उहाँका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा कार्यालयले चार हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो, जसबाट चार लाखभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
प्रहरीका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा विद्यालयस्तरीय ट्राफिक शिक्षा, सडक नाटक, सार्वजनिक स्थानमा होर्डिङ बोर्ड स्थापना, चालक तथा सर्वसाधारण लक्षित जनचेतनामूलक अभियान र नियमित सवारी जाँचलाई निरन्तरता दिइएको छ ।
कार्यालयका अनुसार सिन्धुलीमा हुने अधिकांश दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन, तीव्र गति र चालकको लापरबाही रहेका छन् । विगतमा बीपी राजमार्गमा बढी दुर्घटना हुने गरे पनि पछिल्ला वर्षमा मदन भण्डारी राजमार्गमा दुर्घटनाको संख्या बढ्दै गएको छ । तथ्यांकले जिल्लामा दुर्घटनामा पर्ने सवारीमध्ये मोटरसाइकलको हिस्सा सबैभन्दा बढी रहेको देखाएको छ ।
ट्राफिक प्रहरी निरीक्षक प्रधानले चालकले यात्रा अघि सवारी साधनको प्राविधिक अवस्था जाँच गर्ने, मापसे गरेर सवारी नचलाउने, गति सीमा पालना गर्ने, मोटरसाइकल तथा स्कुटर चालकले अनिवार्य हेल्मेट प्रयोग गर्ने र पैदल यात्रुले सडक प्रयोग गर्दा सावधानी अपनाउने हो भने दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने बताए ।
उनले सडक दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई चालक, यात्रु र आम सर्वसाधारण सबैको साझा दायित्व भएको उल्लेख गरे ।