शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा गोरु हराए, खेतमा यन्त्रको रफ्तार

बुधवार , श्रावण ६, २०८३

सिन्धुली,०६ साउन — सिन्धुलीका खेतबारीमा धान रोपाइँको परम्परागत दृश्य क्रमशः इतिहास बन्दै गएको छ । कुनै समय रोपाइँका बेला गोरु वा राँगाले खेत जोत्दा सुनिने “ह ह माले, ह ह तारे” जस्ता आवाज अहिले सुनिन छाडेका छन् । खेतका गह्रामा गोरु जुधेको वा दौडिएको दृश्यसमेत दुर्लभ बनेको छ । त्यसको स्थान अहिले ट्याक्टर र पावर टिलरले लिएका छन् ।

समयसँगै कृषि प्रणालीमा आएको परिवर्तन तथा कृषिमा बढ्दो यान्त्रिकीकरणका कारण जिल्लाभर ट्याक्टर, रोटाभेटर र पावर टिलरको प्रयोग व्यापक भएको छ । यस्ता उपकरणको प्रयोगले किसानको समय बचत गर्नुका साथै खेत जोत्ने र रोपाइँ सम्पन्न गर्ने कामलाई छिटो तथा सहज बनाएको छ ।

कमलामाई नगरपालिका–४ मल्लागाउँका किसान बशन्त रायमाझी धान रोपाइँको प्रणालीमा समयअनुसार उल्लेखनीय परिवर्तन आएको बताउँछन् । उनले विगत धेरै वर्षदेखि ट्याक्टरको सहायताले खेत जोतेर धान रोपाइँ गर्दै आएको जानकारी दिए । यस वर्ष पनि ट्याक्टर प्रयोग गरेर खेत जोतेको उल्लेख गर्दै उनले प्रतिघण्टा दुई हजार आठ सयदेखि तीन हजार रुपैयाँसम्म शुल्क तिरेको बताए ।

“केही किसानले आफ्नै घरमा पावर टिलर राखेका छन्, तर हामीसँग छैन । त्यसैले पैसा तिरेर जोत्न लगाउँछौँ,” उनले भने । उनका अनुसार अहिले अधिकांश किसानका घरमा खेत जोत्न गोरु ा छैनन् । त्यसैले पावर टिलर वा ट्याक्टरको रोटाभेटर प्रयोग गरेर खेत तयार पार्ने क्रम बढेको छ ।

रायमाझीका अनुसार रोपाइँ गर्ने रोपारले प्रतिदिन पाँच सयदेखि छ सय रुपैयाँसम्म ज्याला लिने गरेका छन् । “मलखाद, रोपाइँ गर्ने मजदुरको ज्याला र ट्याक्टरलाई तिर्नुपर्ने रकमका कारण धानखेतीको लागत बर्सेनि बढ्दै गएको छ,” उनले भने । समयमै रासायनिक मल उपलब्ध नहुँदा उत्पादन घट्न सक्ने चिन्ता व्यक्त गर्दै उनले न्यून आय भएका किसानका लागि सहुलियतको व्यवस्था गर्न आग्रह गरे ।

कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले जिल्लामा धान रोपाइँ पहिलेभन्दा आधुनिक बन्दै गएको बताए । “अहिले किसानले गोरु र राँगा पाल्न छाडेका छन् । त्यसैले कृषि प्रणालीमा यान्त्रिकीकरण तीव्र रूपमा बढिरहेको छ,” उनले भने। स्थानीय तहहरूले किसानलाई हाते ट्याक्टर, पावर टिलरलगायत कृषि औजार वितरण गर्दै आएकाले उपकरणको प्रयोग थप विस्तार भएको उनको भनाइ छ ।

अधिकारीका अनुसार जिल्लामा हालसम्म करिब ७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । सिँचाइ सुविधा भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ भने आकाशे पानीमा निर्भर किसानले अझै रोपाइँ गरिरहेका छन् ।

यस वर्ष सिन्धुलीमा मकवानपुर–१, रामधान, सावित्री, कतर्नी तथा विभिन्न हाइब्रिड जातका धान प्रमुख रूपमा खेती गरिएको कार्यालयले जनाएको छ । जिल्लामा कुल ६९ हजार २५३ हेक्टर खेतीयोग्य जमिन रहेकामा ११ हजार १८८ हेक्टरमा वर्षे धान खेती गरिन्छ । सिँचाइ सुविधा भएका क्षेत्रमा रोपाइँ चाँडै सकिए पनि आकाशे पानीमा निर्भर क्षेत्रमा कतिपय वर्ष भदौसम्म पर्खनुपर्ने अवस्था हुन्छ । यस वर्ष मौसम अनुकूल रहे साउनको अन्तिम सातासम्म जिल्लाभर धान रोपाइँ सम्पन्न हुने कार्यालयको अनुमान छ ।

प्रतिक्रिया