शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालक घाइते

बुधवार , श्रावण ६, २०८३

सिन्धुली,०६ साउन — कमलामाई नगरपालिका–७ स्थित पानीट्यांकी क्षेत्रमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालक घाइते भएका छन् । भित्री सडकखण्डमा मंगलवारबार साँझ भएको दुर्घटनामा कमलामाई नगरपालिका–१० भडार स्थायी घर भई हाल पानीट्यांकीमा डेरा गरी बस्दै आएका रवीन्द्र खड्काका छोरा ५ बर्षिय रिहान खड्का घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौडाले बुधवार जानकारी दिएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौडाका अनुसार मंगलवार साँझ करिब पाँच बजेर बीस मिनेटमा माझीटारबाट पानीट्यांकीतर्फ जाँदै गरेको मोटरसाइकलले सडकमा खेलिरहेका रिहानलाई ठक्कर दिएको थिया े। बालकलाई ठक्कर दिने मोटरसाइकलको नम्बर बा ८४ प ७०५५ रहेको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकल सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ स्थायी घर भई हाल कमलामाई नगरपालिका–७ पानीट्यांकीमा डेरा गरी बस्ने ३८ वर्षीय टेकबहादुर तोलांगीले चलाएका थिए । माझीटारबाट पानीट्यांकीतर्फ आउँदै गरेको मोटरसाइकलले सडक क्षेत्रमा खेलिरहेका बालकलाई ठक्कर दिएपछि बालक सडकमा लडेका थिए ।

दुर्घटनामा रिहानको बायाँ खुट्टा, टाउको र शरीरको पछाडिको भागमा चोट लागेको छ । प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ । दुर्घटनालगत्तै उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याइएको थियो । 

दुर्घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालक टेकबहादुर तोलांगीलाई नियन्त्रणमा लिएको छ । चालक तथा बा ८४ प ७०५५ नम्बरको मोटरसाइकल अहिले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा रहेको जनाइएको छ ।

घटनाको वास्तविक कारण, मोटरसाइकलको गति, चालकको लापरवाही तथा दुर्घटनासँग सम्बन्धित अन्य परिस्थितिबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ । आवासीय क्षेत्र तथा भित्री सडकमा बालबालिकाको आवतजावत र खेल्ने क्रम बढी हुने भएकाले चालकहरूले सवारीसाधनको गति नियन्त्रणमा राख्नुपर्ने देखिन्छ। त्यस्तै, बालबालिकालाई सडकमा खेल्न नदिन परिवार तथा स्थानीय समुदायले पनि आवश्यक सतर्कता अपनाउनुपर्ने आवश्यकता यस घटनाले पुनः औँल्याएको छ ।

प्रतिक्रिया