सिन्धुली,०४ साउन — जिल्ला अदालत सिन्धुलीमा पछिल्लो एक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा उल्लेख्य रूपमा बढेको पाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै अदालतमा ४ सय ३८ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला वर्षहरूमा यस्ता मुद्दाको संख्या निरन्तर उकालो लागिरहेको छ ।
सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला अदालत सिन्धुलीका सेस्तेदार (उपसचिव) चित्रखर अधिकारीले सम्बन्ध विच्छेदका मुद्दा दैनिक औसत तीन वटासम्म दर्ता हुने गरेको जानकारी दिए । उनका अनुसार अधिकांश मुद्दामा महिलाहरू नै वादीका रूपमा देखिएका छन् ।
वैदेशिक रोजगारीका कारण पारिवारिक सम्बन्धमा आएको दूरी, श्रीमानले परिवारको जिम्मेवारी पूरा नगर्नु, नियमित रूपमा खर्च नपठाउनु तथा लामो समयसम्म सम्पर्कविहीन रहनुजस्ता कारणले सम्बन्ध विच्छेदका मुद्दा बढेको अधिकारीले बताए । उनले विशेषगरी तामाङ समुदायका व्यक्तिहरूबाट सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा तुलनात्मक रूपमा बढी आउने गरेको जानकारी दिए ।
अदालतको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा अन्य गम्भीर प्रकृतिका मुद्दासमेत उल्लेख्य रूपमा दर्ता भएका छन् । सो अवधिमा लागूऔषधसम्बन्धी ५८ वटा, जबरजस्ती करणीसम्बन्धी ३२ वटा तथा ज्यानसम्बन्धी कसुरका २२ वटा मुद्दा अदालतमा परेका छन् । यसबाहेक अंश, लिखत बदर, गालीगलौज, कुटपिटलगायतका मुद्दासमेत दर्ता भएका छन् । लागूऔषधसम्बन्धी मुद्दामा विशेषगरी युवाहरूको संलग्नता बढी देखिएको सेस्तेदार अधिकारीले बताए ।
अदालतले मुद्दा फछ्र्योटको क्षेत्रमा पनि उल्लेख्य प्रगति गरेको जनाएको छ । जनआन्दोलनका क्रममा केही प्रमाणहरू नष्ट भएका कारण प्रमाण पुनः प्राप्ति गर्नुपर्ने अवस्थाले केही मुद्दाको प्रक्रियामा ढिलाइ भए पनि सबै पक्षको सहयोगका कारण दुई वर्ष पुगेका मुद्दाको संख्या शून्यमा झार्न सफल भएको अदालतले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ बाट जिम्मेवारी सरी आएका ६ सय ५९ मुद्दामध्ये हाल १ सय १५ वटा मुद्दा विचाराधीन अवस्थामा छन् । २०८३ साउन १ गतेसम्म १८ महिना पुगेका मुद्दाको संख्या १९ रहेको र आगामी पुस मसान्तसम्म १८ महिना पुगेका मुद्दाको संख्या १ सय १५ पुग्ने अनुमान गरिएको अधिकारीले जानकारी दिए ।
अदालतका अनुसार आर्थिक वर्ष २०८१/८२ बाट जिम्मेवारी सरेका ६ सय ५९ र आर्थिक वर्ष २०८२/८३ असार ३२ गतेसम्म नयाँ दर्ता भएका ९ सय ७७ गरी कुल १ हजार ६ सय ३६ मुद्दामध्ये २०८३ असार ३० गतेसम्म १ हजार १ सय १९ वटा मुद्दा फैसला भइसकेका छन् । आर्थिक वर्ष २०८२/८३ बाट भने ५ सय १७ वटा मुद्दा जिम्मेवारी सरेका छन् ।
अदालतले आर्थिक वर्ष २०८२/८३ मा १ हजार २ सय ७८ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो । निर्धारित लक्ष्यको तुलनामा ८७ दशमलव ५५ प्रतिशत मुद्दा फछ्र्योट गर्न सफल भएको जिल्ला अदालत सिन्धुलीले जनाएको छ ।