शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा ४१ अपराधका मुद्वा दर्ता, लागूऔषधविरुद्ध प्रहरीको सक्रियता

सोमवार , श्रावण ४, २०८३

सिन्धुली,०४ साउन – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले असार महिनाभर भएका सुरक्षा, अपराध अनुसन्धान तथा सेवा प्रवाहसम्बन्धी गतिविधिको विवरण सार्वजनिक गर्दै जिल्लामा ४१ वटा अपराधका मुद्दा दर्ता भएको जनाएको छ । तीमध्ये २० वटा मुद्दा फछ्र्योट भएका छन् भने २१ वटा अनुसन्धानकै क्रममा रहेका छन् । दर्ता भएका मुद्दामा ११ वटा झुण्डी आत्महत्या, ८ वटा लागूऔषध, ४ वटा सवारी ज्यान, ५वटा ज्यानसम्बन्धी कसुर तथा भवितव्य ज्यान, ३ वटा बैंकिङ कसुर, २ वटा अभद्र व्यवहार तथा १–१ वटा बहुविवाह, सवारी अंगभंग, विष सेवन गरी आत्महत्या द्योगका मुद्दा रहेका छन् । यस अवधिमा महिला बालबालिका तथा जेष्ठ नागरिक तर्फ ११ वटा उजुरी पनि दर्ता भएको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ् ।

प्रहरीका अनुसार अपराधमा संलग्न वा प्रभावित ४१ जनामध्ये एकदेखि १८ वर्ष उमेर समूहका चार, १९ देखि २५ वर्षका चार, २६ देखि ३५ वर्षका आठ, ३६ देखि ४५ वर्षका १०, ४६ देखि ५९ वर्षका १४ तथा ६० वर्षभन्दा माथिका एक जना रहेका छन् । हराएका ३० जनामध्ये १३ महिला, दुई ज्येष्ठ नागरिक, सात बालिका, तीन बालक र पाँच पुरुष थिए । तीमध्ये २८ जना फेला परेका छन्, जसमा १२ महिला, एक ज्येष्ठ नागरिक, सात बालिका, तीन बालक र पाँच पुरुष छन् ।

घरेलु हिंसासम्बन्धी १३ वटा उजुरीमध्ये सात शारीरिक र छ मानसिक हिंसासम्बन्धी रहेका छन् । तीमध्ये १२ वटा मिलापत्रबाट टुंग्याइएको छ भने एउटा अदालत पठाइएको प्रहरीको विवरणमा उल्लेख छ । स्थानीय तहगत रूपमा कमलामाई नगरपालिकाबाट आठ, मरिण गाउँपालिकाबाट तीन, तिनपाटन गाउँपालिकाबाट एक तथा अन्य क्षेत्रबाट एक उजुरी परेको छ । यस अवधिमा प्रहरीमा प्रत्यक्ष १३० उजुरी दर्ता भएकामा १२७ फछ्र्योट भएका छन् र तीन बाँकी छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आएका १२ उजुरीमध्ये १० फछ्र्योट भएका छन् भने दुई प्रक्रियाम रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

असारमा लागूऔषधसम्बन्धी आठ मुद्दामा नौ जनालाई कानुनी कारबाही गरिएको छ । प्रहरीले एक सय ११ दशमलव ८२ ग्राम खैरो हेरोइन र ६८ वटा ट्याब्लेट बरामद गरेको जनाएको छ । आत्महत्यासम्बन्धी १२ घटना दर्ता भएका छन् । तीमध्ये छ पुरुष, तीन महिला र तीन बालिका रहेका छन् । उमेरगत रूपमा १० देखि १८ वर्ष समूहमा तीन बालिका, १८ देखि ४० वर्ष समूहमा तीन महिला र पाँच पुरुष तथा ६० वर्षभन्दा माथि एक पुरुष रहेको प्रहरी तथ्यांकमा उल्लेख छ ।

सवारी दुर्घटनातर्फ असारमा १६ दुर्घटनामा २२ सवारीसाधन संलग्न भएका छन् । दुर्घटनामा चार जनाको मृत्यु, २२ जना घाइते भएका छन् भने २६ जनाको उद्धार गरिएको छ । दुर्घटनाका प्रमुख कारणमा हुस्सु–कुहिरोजस्ता मौसमीय अवस्था, तीव्र गति तथा साँघुरा र घुमाउरा सडकलाई औंल्याइएको छ । सवारी जाँचका क्रममा एक हजार २२८ वटा कारबाही गरी १२ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । साथै एक नाल भरुवा बन्दुक बरामद गरिएको, घरेलु मदिरा नष्ट गरिएको तथा लागू पदार्थसम्बन्धी कारबाही कानुनबमोजिम गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नियमित रूपमा चार पटक क्यूआरटी, एक हजार ५३ पटक आरपीटी, एक सय पटक पिकेट तथा तीन सय पटक चेकिङ र ग्रामीण गस्ती परिचालन गरेको जनाएको छ । बन्द, चक्काजाम, आन्दोलन, हड्ताल वा मेला–पर्वका कारण विशेष सुरक्षा परिचालन आवश्यक नपरेको र प्रहरी कारबाहीका क्रममा कुनै मानवीय वा भौतिक क्षति नभएको उल्लेख गरिएको छ ।

 बाढी, पहिरो तथा अन्य विपद्का घटनामा उद्धार र राहतका लागि प्रहरी परिचालन गरिएको, विद्यालय, स्थानीय तह र समुदायसँगको सहकार्यमा ट्राफिक सचेतना, लागूऔषध दुव्र्यसन नियन्त्रण, साइबर अपराध तथा बालविवाह नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीको भनाइ छ । मातहत कार्यालयहरूको निरीक्षण, फरार प्रतिवादी पक्राउ अभियान, खोजतलास तथा गस्ती सुदृढीकरण, सार्वजनिक सुनुवाइ, अन्तरक्रिया र नागरिकमैत्री सेवा प्रवाहलाई पनि प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ ।
 
आगामी दिनमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, समुदाय–प्रहरी साझेदारी, फरार प्रतिवादी पक्राउ, सेवा प्रवाह र मातहत कार्यालयको अनुगमनलाई अझ प्रभावकारी बनाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया