सिन्धुली,०४ साउन — सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित घाटगाउँमा बोलेरो पिकअप गाडीको ठक्करबाट दुई बालिका घाइते भएका छन् । शनिवार दिउँसो करिब २ बजेर १० मिनेटमा मदन भण्डारी राजमार्गअन्तर्गत घाटगाउँ सडकखण्डमा भएको दुर्घटनामा सात वर्षीया साइरा अधिकारी गम्भीर र १२ वर्षीया आनन्या धामी मध्यम अवस्थाका घाइते भएको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाले आइतवार जानकारी दिएको छ ।
प्रदेश प्रहरीबाट प्राप्त विवरणअनुसार भिमानबाट डकाहातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च १८०७ नम्बरको बोलेरो पिकअप गाडीले खेतबाट सडकमा निस्कने क्रममा पैदल हिँडिरहेका दुवै बालिकालाई ठक्कर दिएको थियो । उक्त गाडी सिन्धुलीको दुधौली नगरपालिका–२ बस्ने करिब २८ वर्षीय सुनिल माझीले चलाएका थिए । दुर्घटनापछि चालक माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेमध्ये दुधौली नगरपालिका–१, घाटगाउँ बस्ने सविता अधिकारीकी करिब सात वर्षीया छोरी साइरा अधिकारीको अवस्था गम्भीर रहेको जनाइएको छ । त्यस्तै, दुधौली नगरपालिका–१ मै बस्ने विक्रम धामीकी करिब १२ वर्षीया छोरी आनन्या धामीको दुवै खुट्टाको तिघ्राको भाग, टाउकोको बायाँ भाग तथा बायाँ हातमा चोट लागेको छ । प्रदेश प्रहरी विवरणमा आनन्याको अवस्था मध्यम रहेको उल्लेख गरिएको छ ।
दुर्घटनालगत्तै दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको थियो । जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि थप उपचार आवश्यक देखिएकाले शनिवार साँझ करिब ५ बजेर ५० मिनेटमा दुवै बालिकालाई काठमाडौँस्थित बी एन्ड बी अस्पताल पठाइएको प्रदेश प्रहरीको अद्यावधिक विवरणमा उल्लेख छ ।
प्रहरी नियन्त्रणमा रहेका चालक माझीलाई इलाका प्रहरी कार्यालय डकाहा ल्याएर राखिएको छ। उपलब्ध प्रारम्भिक विवरणमा दुर्घटनाको कारणबारे थप निष्कर्ष खुलाइएको छैन ।