सिन्धुली,०२ साउन –— धर्म, संस्कृति र आस्थाका दृष्टिले पवित्र मानिने साउन सुरु भएसँगै सिन्धुलीमाढी तथा जिल्लाका विभिन्न बजारमा हरियो–पहेँलो चुरा, पोते, मेहेन्दी, नेलपालिस, पहिरन र अन्य श्रृङ्गार सामग्रीको कारोबार उल्लेख्य रूपमा बढेको छ । भगवान् शिवको पूजा, व्रत र धार्मिक अनुष्ठानसँग जोडिएको यस महिनामा महिलाले श्रीमान्को दीर्घायु, पारिवारिक सुख–शान्ति र मनोकामना पूरा हुने विश्वाससहित यस्ता सामग्री प्रयोग गर्ने परम्परा छ । व्रतालु महिलाको माग अझ बढी हुने व्यवसायी बताउँछन् ।
सिन्धुलीमाढीका माडीबजार, धुराबजार, स्टलबजार, बसपार्क, बैंक रोड र ढुंग्रेबाससँगै चकमके, खुर्कोट, मरिणको छाप र दुधौली बजारका श्रृङ्गार पसलमा ग्राहकको चहलपहल बढेको छ । साउनका प्रत्येक सोमबार शिवालयमा भक्तजनको भीड लाग्ने भएकाले एक महिनासम्म हरिया–पहेँला चुरा, पोते, वस्त्र र श्रृङ्गार सामग्रीको किनबेच राम्रो हुने अपेक्षा गरिएको छ । आर्थिक दृष्टिले विशेष मानिने यस सिजनका लागि व्यापारीले रंगीबिरंगी चुरा, पोते र नयाँ डिजाइनका सामग्री अग्रिम रूपमा झिकाएका छन् ।
सिन्धुलीमाढीस्थित रोजिना कस्मेटिककी सञ्चालक रोजिना श्रेष्ठले साउन सुरु हुनुभन्दा पन्ध्र दिनअघिदेखि नै माग बढेको बताइन् । “आज मात्रै होइन, पन्ध्र दिनअघिदेखि पसलमा यस्तै भीड छ । साउनमा लगाउने हरियो–पहेँलो चुरा र अन्य श्रृङ्गार सामग्री किन्न ग्राहक आइरहेका छन्,” उनले भनिन् । अहिले चुरा, पोते र मेहेन्दी बिक्री गर्न भ्याइनभ्याई रहेको उनको भनाइ छ ।
पुरानो खुर्कोटकी व्यवसायी सोनी कार्कीका अनुसार अन्य महिनाको तुलनामा साउनमा चुरा, मेहेन्दी र श्रृङ्गार सामग्री बढी बिक्री हुन्छ । “महिलाले विशेषगरी हरिया–पहेँला कस्मेटिक सामग्री खरिद गर्नुहुन्छ । अहिले दैनिक व्यापार पनि बढेको छ,” उनले भनिन् । कतिपयले धार्मिक महत्त्व बुझेर र कतिपयले देखासिकी तथा लहैलहैमा यस्ता सामग्री लगाउने उनको अनुभव छ । हरियो चुरासहित श्रृङ्गार गरी शिवको आराधना र व्रत बस्दा अटल सौभाग्य प्राप्त हुने विश्वास महिलामा पाइन्छ ।
आठ वर्षदेखि कस्मेटिक व्यवसाय गर्दै आएकी नीगीना शाहले भनिन्, “अरू महिनाको तुलनामा साउनमा ग्राहक धेरै आउँछन् । हरियो चुरा र मेहेन्दी सबैभन्दा बढी बिक्री हुने सामग्री हुन् । अन्य महिनामा दैनिक दुई हजार रुपैयाँसम्म नहुने व्यापार अहिले तीनदेखि पाँच हजार रुपैयाँसम्म पुगेको छ ।” व्यवसायी सञ्जु चौधरीले युवतीहरू साधारणभन्दा स्टोन, मेटालिक र डिजाइनर चुरा तथा नयाँ मेहेन्दी डिजाइनतर्फ आकर्षित भएको बताइन् ।
स्थानीय सविता श्रेष्ठले भनिन्, “साथीभाइसँग मेहेन्दी लगाउने, हरियो पहिरन लगाउने र फोटो खिच्ने रमाइलो नै छुट्टै हुन्छ । तर पसलअनुसार एउटै सामानको मूल्य फरक हुँदा तुलना गरेर मात्र किन्छौँ ।” अहिले किनमेलसँगै मेहेन्दी लगाउने महिलाको व्यस्तता पनि उत्तिकै देखिन्छ ।
उपभोक्ताले एउटै डिजाइनको चुरा एक पसलमा दुई सय र अर्कोमा तीन सय रुपैयाँसम्म पर्ने भन्दै सिजनका नाममा मनपरी मूल्य नलिन आग्रह गरेका छन् । उनीहरूले सिन्धुली उद्योग वाणिज्य संघ र सम्बन्धित निकायलाई नियमित बजार अनुगमन गरी मूल्यमा एकरूपता कायम गर्न माग गरेका छन् । भएको उनीहरूको भनाइ छ । साउनले साना व्यवसायीको आम्दानी बढाउने अपेक्षा गरिए पनि उपभोक्ता ठगिने जोखिमप्रति सचेत हुनुपर्ने देखिएको छ ।