सिन्धुली ०२ साउन – गोलन्जोर गाउँपालिकाले शुक्रबारदेखि नवनिर्मित सुविधासम्पन्न प्रमुख प्रशासनिक भवनबाट एकीकृत सेवा प्रवाह सुरु गरेको छ । करिब एक दशकदेखि मासिक ४५ हजार रुपैयाँ भाडा तिरेर तीन छुट्टाछुट्टै भवनबाट सेवा दिँदै आएको गाउँपालिकाले अब सबै शाखालाई एउटै भवनमा केन्द्रित गरेको हो । यससँगै सिन्धुलीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहले आफ्नै भवनबाट सेवा सञ्चालन गर्न थालेका छन् ।
गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार बुधबार वैदिक विधिअनुसार पूजा–आजा र गृहप्रवेश सम्पन्न गरेपछि शुक्रबारदेखि औपचारिक सेवा सुरु गरिएको हो । यसअघि कृषि, स्वास्थ्यलगायतका शाखा फरक–फरक स्थानमा हुँदा सेवाग्राहीलाई विभिन्न ठाउँ धाउनुपर्ने बाध्यता थियो ।
“अब सबै शाखा एउटै भवनमा आएपछि सेवाग्राहीले एकै स्थानबाट आवश्यक सेवा पाउने भएका छन्,” बरालले भने, “यसले सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाएको छ ।”
चारतले तथा ३८ कोठे भवन निर्माणका लागि पाइनस कन्स्ट्रक्सन प्रालि, बानेश्वरसँग २०८० भदौ १२ गते दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । निर्माणमा केही ढिलाइ हुनुको मुख्य कारण संघीय सरकारबाट प्राप्त हुनुपर्ने बजेट समयमै नआउनु रहेको अध्यक्ष बरालले बताए ।
भवनको कुल लागत मूल्य अभिवृद्धि करबाहेक छ करोड ११ लाख ११ हजार रुपैयाँ छ । त्यसमध्ये ६० प्रतिशत नेपाल सरकारको स्थानीय पूर्वाधार कार्यालय र बाँकी ४० प्रतिशत गाउँपालिकाले व्यहोरेका हुन् । नयाँ भवन सञ्चालनमा आएपछि तीनवटा भवनको मासिक भाडाबापत हुने खर्चसमेत जोगिएको छ ।
घ्याङलेख गाउँपालिकाको प्रमुख प्रशासनिक भवन भने निर्माणको अन्तिम चरणमा पुगेको छ । गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनका अनुसार झ्याल–ढोका जडान, रङरोगन तथा टायल–मार्बल बिछ्याउने काम भइरहेको छ । आगामी असोजसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।
२०७९ भदौ ३१ गते पीपी ईश्वरी संयुक्त उपक्रम, मन्थली, रामेछापसँग १८ महिनाभित्र काम सक्ने गरी सम्झौता भएको भवनको निर्माण प्रगति ९० प्रतिशतभन्दा बढी छ । निर्धारित अवधि सकिएपछि तीनपटक छ–छ महिनाका दरले म्याद थपिएको गाउँपालिकाले जनाएको छ ।
पाँच करोड ६३ लाख २६ हजार ९५ रुपैयाँ लागतको भवन निर्माणमा संघीय सरकारले तीन करोड ३७ लाख ९५ हजार ६५७ रुपैयाँ र गाउँपालिकाले दुई करोड २५ लाख ३० हजार ४३८ रुपैयाँ व्यहोरेको प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले बताउनुभयो ।
भवन निर्माण पूरा नहुँदासम्म प्रशासनिक शाखा वडा नम्बर २ को भवनबाट र विषयगत शाखाहरू करिब तीन किलोमिटर टाढा डुम्रेस्थित भवनबाट सञ्चालन भइरहेका छन् । दुई स्थानबाट सेवा सञ्चालन गर्दा व्यवस्थापनमा कठिनाइ भइरहेको कर्मचारीको गुनासो छ ।
फिक्कल गाउँपालिकाले पनि गत माघदेखि आफ्नै ३३ कोठे नयाँ प्रशासनिक भवनबाट सेवा दिँदै आएको छ । सामाजिक विकास शाखा प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार सबै शाखा एउटै भवनमा सञ्चालन भएपछि सेवाग्राहीलाई सहज भएको छ । करिब सात करोड रुपैयाँ संघीय सरकारको सहयोगमा धुलिखेल निर्माण सेवाले उक्त भवन निर्माण गरेको हो ।
हाल गोलन्जोर, दुधौली नगरपालिका, मरिण, फिक्कल, सुनकोसी, हरिहरपुरगढी र तीनपाटन गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा दिइरहेका छन् । कमलामाई नगरपालिकासँग सुरुदेखि नै आफ्नै भवन छ । घ्याङलेखको भवन सम्पन्न भएपछि जिल्लाका सबै स्थानीय तह आफ्नै प्रशासनिक भवनबाट सञ्चालन हुने लक्ष्य पूरा हुनेछ ।