शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कमलामाई नगरपालिकाद्वारा प्रविधि हस्तान्तरण

शुक्रवार , श्रावण १, २०८३

सिन्धुली,०१ साउन  – कमलामाई नगरपालिकााले स्थानीय उद्योग तथा व्यवसायलाई प्रविधिमैत्री बनाउँदै उत्पादन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित कमलामाई नगरपालिकाले सफल तथा नयाँ उद्यमीहरूलाई लक्षित गरेर मागमा आधारित लागत साझेदारीमा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत आर्थिक विकास शाखाको उद्योग तथा व्यवसाय प्रवद्र्धन उपशाखाले आयोजना गरेको उक्त कार्यक्रम नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

स्थानीय स्तरमा सञ्चालन भइरहेका उद्योग तथा व्यवसायलाई समयअनुकूल प्रविधिसँग जोड्दै उत्पादनशील, प्रतिस्पर्धी र दिगो बनाउने नगरपालिकाको योजनाअनुसार कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

नगरपालिकाले उद्यमीहरूको वास्तविक आवश्यकता र व्यवसायको प्रकृतिलाई आधार बनाएर मागमा आधारित लागत साझेदारीको अवधारणाअनुसार प्रविधि हस्तान्तरण कार्यक्रम अघि बढाएको हो । यसमार्फत उद्योग तथा व्यवसायका लागि आवश्यक आधुनिक उपकरण तथा प्रविधिको उपयोग विस्तार गर्ने, उत्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउने र उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले  बदलिँदो समयसँगै उद्योग तथा व्यवसायलाई आधुनिक प्रविधिसँग आबद्ध गर्नु अपरिहार्य बन्दै गएको बताए । उनले परम्परागत उत्पादन प्रणालीबाट मात्रै बजारमा टिक्न कठिन हुँदै गइरहेको अवस्थामा प्रविधिको प्रयोगले उत्पादनको गुणस्तर सुधार गर्नुका साथै उत्पादन परिमाण बढाउन र लागत व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा सहभागी उद्यमीहरूले स्थानीय सरकारबाट प्राप्त हुने यस्ता सहयोगले व्यवसाय विस्तार गर्न थप आत्मविश्वास मिल्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूका अनुसार आधुनिक प्रविधिको पहुँच विस्तार हुँदा उत्पादनको गुणस्तरमा सुधार आउनुका साथै बजारमा प्रतिस्पर्धा गर्न सहज हुने अपेक्षा गरिएको छ । लागत साझेदारीको अवधारणाले उद्यमीहरूलाई जिम्मेवार बनाउनुका साथै उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न पनि प्रेरित गर्ने उनीहरूको भनाइ थियो ।

नगरपालिकाले पनि यस्ता कार्यक्रमले स्थानीय उद्योग तथा व्यवसायको स्तरोन्नतिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । समयसापेक्ष प्रविधिको प्रयोगमार्फत उद्योगको उत्पादन क्षमता वृद्धि हुनुका साथै उद्यमी व्यवसायीहरूको मनोबल उच्च हुने र व्यवसायलाई थप सफल तथा दिगो बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय सरकारद्वारा सञ्चालन गरिएका उद्यम प्रवद्र्धनका कार्यक्रमले रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । विशेषगरी साना तथा मझौला उद्यमलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयासले स्थानीय उत्पादनलाई बजारमुखी बनाउन सहयोग पुग्ने र औद्योगिक विकासको आधारसमेत बलियो बन्ने अपेक्षा गरिएको नगरपालिकाको भनाइ छ ।

कमलामाई नगरपालिकाले आगामी दिनमा पनि उद्यमीहरूको आवश्यकता र बजारको मागलाई ध्यानमा राख्दै उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिने संकेत गरेको छ । स्थानीय उद्यमको क्षमता अभिवृद्धि, प्रविधिको पहुँच विस्तार तथा उत्पादनशील वातावरण निर्माणमार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको विकासमा योगदान पु¥याउने लक्ष्यसहित यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख, कर्मचारी तथा स्थानीय उद्यमी–व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया